काठमाडौँ, २१ असोज । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको बताएका छन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको हो ।
प्रवक्ता ज्ञवालीका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ । यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ ।