काठमाडौँ, १९ असोज । नेपालका लागि अस्ट्रेलियाका राजदूत पीटर बडले सभामुख अग्निप्रसाद सापकोटासँग बिदाई भेट गरेका छन् ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत बडले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाई भेटघाट गरेका हुन् । भेटमा सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच ६० बर्ष लामो सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूत बडले गरेको योगदानको प्रशंसा गरे ।
उनले नेपाल र अस्टे«लिया दुवै देश कोभिड १९ र जलवायु परिवर्तन चुनौतीको सामना गरिरहेको बताउँदै चुनौतीका बीचमा नयाँ सम्भावना खोजिनुपर्नेमा जोड दिए । सभामुख सापकोटाले हालैनेपाल र अस्टे«लियाबीच सुरु भएको सिधा हवाई सेवा आगामी दिनमा समेत सुचारु रहने विश्वास व्यक्त गरे ।
उनले नेपालमा रहेका भुटानी शरणार्थी व्यवस्थापन र भूकम्पका बेला गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अस्ट्रेलियाकाले नेपालमा गरिरहेको बहुआयामिक सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।
बिदाई भेटका क्रममा राजदूत बडले आफ्नो साढे तीन वर्षे नेपाल बसाइ सुखद भएको जानकारी दिंदै स्वदेश फर्केपछि पनि सम्बन्ध बलियो बनाउन लागि रहने प्रतिबद्धता व्यक्त गरे ।