काठमाडौँ, १४ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले उर्जामन्त्री वर्षमान पुनबीच आँधीखोला जलाशययुक्त जलविद्युत प्रस्तावित आयोजनाको विषयमा छलफल भएको छ ।
मंगलबार उर्जा मन्त्रालयमा मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको स्थानीय सरकारहरुका प्रमुखहरु, सरोकारवाला सम्मिलित डेलिगेशन टोलीसँगै आँधीखोला जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगतिका बारेमा छलफल भएको हो ।
त्यस अवसरमा मन्त्री अर्यालले जलस्रोतलाई प्रयोग गरेर नेपाल बनाउने अभियान अहिले नै गर्नुपर्ने बताइन् ।उनले भनिन्, ‘यो आयोजना गर्ने हो भने हामीले छिट्टै गर्नुपर्छ । यसको महत्व कम हुँदै गएको बेला पछि बनाउदा त्यो अर्थ रहदैन’, ‘यो आयोजनाबारे अध्ययन गरेर यहाँहरुले निष्कर्ष निकाल्नुभएको होला । हामीले जतिसक्दो छिटो यो परियोजना अगाडि बढाउनुपर्छ ।’
उर्जामन्त्री वर्षमान अनन्तले आँधीखोला आयोजनाको अध्ययनमा नै धेरै समय लागेको र अहिलेसम्म डकुमेन्ट प्राप्त हुन नसकेको बताए । आर्थिक तथा सबै हिसाबले आयोजना कत्तिको फाइदाजनक छ भन्ने कुरा अध्ययनले छिटो डकुमेन्ट दिनुपर्ने मन्त्री पुनको भनाइ छ ।
अध्ययन पूरा भएपश्चात् सरकारले आयोजनालाई निजी क्षेत्रमा दिएर व्यावसायिक बनाउनुपर्ने भएमा निजी क्षेत्रलाई आह्वान गर्ने बताए । आँधीखोल जलविद्युत् आयोजना व्यापारिक रुपले त्यति नाफामुलक नभएको भन्ने देखिएकाले त्यसका लागि अरु उपायहरु के हुन सक्छन् ? आयोजना के गर्ने भन्ने विषयमा के सम्भावना हुनसक्छ भनेर खोजी हुने मन्त्री पुनले विश्वास व्यक्त गरेका छन् ।