तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

काठमाडौँ, १४ असोज । तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।

मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस (कोभिड–१९)को परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ्चालन गर्न छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गरका थिए । चीनको केन्द्रीय तहमै भएको यो पहिलो छलफल पनि हो ।

छलफलमा नाका सञ्चालनको विषयमा चीनले सुरक्षालाई मुख्य चासोको विषय बनाएको सहसचिव दाहालले जानकारी दिए । “नाकामै पीसीआर ल्याब राख्नुपर्ने, निरन्तर डिस्इन्फेक्ट गर्नुपर्ने, कामदारलाई क्वारेन्टाइनमा राख्नुपर्ने, नियमित सुरक्षाजाँच गर्नुपर्ने जस्ता विषयमा चिनियाँ पक्षको चासो थियो”, उनले भने । नेपालले यी सबै विषय पालना गर्ने तर निःसर्त नाका खोल्नुपर्ने प्रस्ताव राखेको उनले बताए ।

नेपालको प्रस्तावमा चीनले तत्काल सीमित मात्रामा खोल्ने र नेपालको तयारी हेरेर आश्वस्त भएपछि सामान्य रूपमै नाका सञ्चालन गर्ने जनाएको उनले जानकारी दिए । त्यस्तै दुवै पक्षबीच अन्य नाका पनि पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने विषयमा समझदारी बनेको छ ।

कृषिजन्य सामग्रीको क्वारेन्टाइन परीक्षण तथा मासुसमेत निर्यातका लागि एकीकृत प्लान्ट र ‘मल्टिफङ्स्नल ल्याब’ सञ्चालन गर्ने विषयमा समेत दुई पक्षबीच छलफल भएको थियो । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत नेपालले आफ्नो धारणा दिने र त्यसमा चिनियाँ पक्षले निर्माणमा सहयोग गर्नुपर्ने प्रस्ताव नेपालले राखेको थियो । त्यस्तै ‘ड्युटी फ्री’अन्तर्गत नेपालले चीन निर्यात गर्न सक्ने आठ हजार ३० वटा सूचीमध्ये २४७ वस्तु मात्र निर्यात भएको अवस्थामा चीन तर्फको आयात सूचीमा नसमेटिएका कृषिजन्य, हर्बल र मासुलाई समेट्न चीन सकारात्मक भएको छ । यसरी चीनले आयात सूचीमा नसमेट्दा नेपालमा उत्पादित वस्तु तेस्रो देश हुँदै चीन निर्यात भइरहेको छ । नेपालले त्यस्ता १८८ वटा वस्तु आयात सूचीमा समेट्न र नेपालबाटै सीधै चीन निर्यात गर्न पाउन गरेको प्रस्तावमा चीनले तत्काल यो विषय सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।