भक्तपुर, १३ असोज । नेपाली युवाहरुको आशा र भरोसाको एक मेरुदण्डको रुपमा स्थापित नाम हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत । वि.सं. २०५४ सालको स्थानीय तहको निर्वाचनमा २३ वर्षको युवा उमेरमा नै गाउँविकास समितिको अध्यक्षमा निर्वाचित हुनुभएका सांसद बस्नेतले युवा कालिन अवस्थामा विभिन्न आरोह तथा अवरोहलाई पार्टी तथा आम नेपाली युवाको हितमा समर्पित गरी अग्रगामी बाटोमा लैजानुभयो ।
उहाँकै नेतृत्वमा तत्कालिन युवा संघ नेपालले आम नेपाली युवाहरुको आवाजलाई बुलन्द गर्यो । नीतिगत कुरालाई व्यवहारिकतामा लैजाने मार्ग प्रशस्त गर्यो । जसले गर्दा हाल नेपाली युवाहरुको माग सुनुवाई भई कार्यान्वयन भइरहेको छ । युवा आन्दोलनको नेतृत्वकर्ता जसले युवाहरुको लागि मात्र भलाई नभई मुलुकको काँचुली फर्ने यात्राको निर्धारण गर्यो । उहाँकै नेतृत्वकालमा भएका युवाहरुको माग अनुरुप हाल युवा मन्त्रालय बनेको छ । युवा संघमा आवद्ध जो कोही युवाहरु रोजगार तथा आत्मनिर्भर हुनै पर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयनमा ल्याईयो । जसले गर्दा हाल युवा संघमा आवद्ध युवाहरु केही न केही क्षेत्र, व्यवसाय, रोजगारीलगायतमा रहेका छन् ।
युवा मैत्री कानुनको निर्माण भयो । देशमै रोजगारी, उत्पादनमा वृद्धिको अभियानलाई अगाडी बढाउनुभयो । जसले गर्दा युवाहरु विदेशमा पसिना चुहाउनुभन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने भावनाको विकास भयो । तर त्यो पूर्ण रुपमा कार्यान्वयन भने हुन सकेको छैन । त्यसलाई पूर्ण कार्यान्वयन गराउन वर्तमान समयमा सांसद बस्नेतको सकृयता व्यापक बन्दै गएको छ । प्रत्येक युवाहरु उत्पादनसँग जोडिनुपर्ने र उत्पादनलाई उद्योगमा रुपान्तरण गर्नुपर्ने उहाँले अहिले अभियान नै चलाउन थाल्नुभएको छ । त्यो नेपाली युवाहरुको लागि अनिवार्य आवश्यकता रहेको उहाँले औंल्याउनु भएको छ ।

दक्ष व्यक्तिलाई विदेश नभई स्वदेशमा नै अवसरको खोजीमा योजनाबद्ध रुपमा अगाडी बढ्नुभएका सांसद बस्नेतकै पहलमा युवा स्वरोजगार कोषको स्थापना, शैक्षिक प्रमाणपत्रका आधारमा सहुलियत दरमा ऋण, विदेशबाट नेपाल फर्केकालाई सीपको आधारमा सहुलियत दरमा ऋण, जिल्ला जिल्लामा राहदानी वितरणको व्यवस्था, राष्ट्रिय युवा परिषद्का स्थापनालगायतका दर्जनौं ऐतिहासिक कदम तथा पहलकदमीहरु गरी हाल कार्यान्वयनको चरणमा रहेको छ । जसले गर्दा सांसद बस्नेत युवाहरुको मार्गनिर्देश मात्र नभई नेपाली युवाहरुको अध्यारो रातमा खसेको ताराको रुपमा लिईन्छ ।
उहाँ भन्नुहुन्छ, ‘नेपालमा अब युवा मैत्री वातावरण सिर्जना भइसक्यो । अब युवाहरु देश निर्माणमा लाग्नुपर्छ । नेपालमा पसिना बगाउनुपर्छ । युवाहरुको साथमा सम्पूर्ण राज्य तथा सरकार साथमा छ । त्यसलाई समयमा नै सदुपयोग गरी मुलुकको विकास र समृद्धिको यात्रामा अघि बढ्ने मात्र हैन, दौडिनु पर्छ । जसले गर्दा समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन सकिन्छ । आर्थिक वृद्धिदर बढ्दै जान्छ, स्वदेशमा नै रोजगारीको वातावरण वन्छ । त्यती मात्र नभई नेपाली रोजगारीको खोजीमा विदेश जाने हैन, विदेशी नागरिक नेपालमा रोजगारीको लागि गन्तव्यको रुपमा स्थापीत हुन्छ । जसको लागि युवाहरुद्वारा विभिन्न प्रकारका उत्पादनमूखी गतिविधिलाई उद्योगमा रुपान्तरण गर्नुपर्छ ।’
नेपालमा नै केही गर्छु भन्नेलाई कानुनी रुपमा अब कुनै समस्या नरहेको बताउँने सांसद बस्नेत कृषीको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र विस्तार, उद्योगको विकास, बैज्ञानिक प्रणाली भौतिक पूर्वाधारको विकास, एक घर एक रोजागारी, राज्यको शुन्य लागतमा गर्न सकिने विकास, व्यवस्थित सहरी विकास, हरियाली प्रवद्र्धन, राष्ट्रिय आयोजनाहरुलाई समयमा नै सम्पन्न गराउनु, साना तथा ठूला आयोजनालाई जनताको माग र आवश्यकता अनुसार गर्नु, स्रोत साधनको उचित प्रयोग तथा व्यवस्थापन गर्नु, शिक्षा, स्वास्थ्यलाई व्यवस्थित र प्रभावकारी बनाउनु, जनताको समस्याको सुनुवाई गर्नुलगायतका उहाँको हालको दैनिक जस्तै बनेको छ ।
दैनिक १८ घण्टा सामाजिक तथा विकास निर्माणको कार्यमा तल्लिन रहनुहुने सांसद बस्नेतले आफ्नो क्षेत्रमा विकासको उदाहरणीय स्थानको रुपमा मुलुककै लागि परिचित गराउनुभयो । असम्भव भन्ने मुर्खहरुको डायरीमा मात्र हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै विगतमा असम्भव भनिएका विकासका आयोजनाहरु उहाँको नेतृत्वले सहजै रुपमा अघि बढायो । कतिपय निर्माण सम्पन्न भइसके त कतिपय निर्माणको क्रममा रहेका छ ।
भोली भन्ने शब्द नै हुन्न भन्ने विश्वासका साथ जनताको चाहनालाई पुरा गर्ने जिम्मा वर्तमान जनप्रतिनिधिको रहेको वताउने सांसद बस्नेतको नेतृत्वमा भक्तपुरका चारै दिशातर्फ फर्केर हेर्ने हो भने कुनै न कुने विकास नभएको देखिँदैन । जसकाले लागि संम्बन्धीत निकाय, जनप्रतिनिधि तथा स्थानीयवासीको साथ र सहयोग निरन्तर रहेको पाइएको छ । त्यहाँका जनताले भन्ने गरेका छन्, ‘इतिहासमा बल्ल यस्तो जनप्रतिनिधि पायौं कि जनताको समस्या जहिले पनि आफ्नै हो भनि सोच्ने । विगतको जनप्रतिनिधिले सांसद बस्नेतको जस्तै विकास निर्माणका कार्यहरु गरेको भए सायद भक्तपुर नेपालको मात्र नभई विश्वकै एक विकसित ठाउँको रुपमा रुपान्तरित हुन्थ्यो हो । तर विगतबाट पछुताउने भन्दा पनि अब आफ्नो र आफ्नो भन्दा पछिल्लो पिढिको लागि सोचेर काम गर्ने जनप्रतिनिधि पाएका छौं । अब विकास र समृद्धिको नाममा पछाडी पर्कने वाला छैनौं, अगाडी बढ्यौं, बढ्यौं । कसैले रोक्न खोजे अगाडी बढेको रेल रोकिन्न, रोक्न खोज्ने सँगै आउँछ, नत्र आफै रेलबाट छुट्छ ।’

यसै क्रममा सांसद बस्नेतद्वारा आफ्नो क्षेत्रमा निर्माणधिन सयौं योजनाहरुमध्ये तीन दिनमा तीन वटा आयोजनाको छड्को अनुगमन गर्नुभएको छ । जसमा सूर्यविनायक नगरपालिका वडा नं ६ कटुञ्जेको चुनदेवी मन्दिर हुदै बनाचौर जाने ६ मिटर चौडा र बाकीँ करिब ३०० मिटर लम्बाइ सडक पीआइडीले पूर्व शर्त अनुसार कालोपत्र (आस्फाल्ट पिच) गर्न ढिलाइ गरिरहेको सम्बन्धमा सांसद बस्नेत, वडा अध्यक्ष रामेश्वर धोजु, वडा सदस्य सुदाम के.सी., अर्जुन खतिवडाज्यू, पीआइडीका साइड इन्जिनियर सुरेश महर्जन, सम्बन्धित ठेकदार र स्थानीय टोल बासिन्दाहरु सहित फिल्ड मै बसि आज छलफल गर्नुको साथै निर्देशन अनुसार एक हप्ता भित्र कालोपत्र (आस्फाल्ट पिच) गर्न आवश्यक ग्रेडिङ्ग, सबबेस, बेस र रोलर लाउने कामहरु अगाडि बढाउने सहमतिका साथ साइड निरीक्षण समेत गर्नुभयो ।
नगरपालिका वडा नं २ बालकोटको गोदावरी खोलादेखि धरापाटी चोकसम्मको बाटो संघीय सरकारको बजेटद्वारा १० मिटर चौडा विस्तार, स्तरोन्नति र कालोपत्रे (आस्फाल्ट पिच)को लागि भैरहेको कामको स्थलगत निरीक्षण गर्नुको साथै देखिएका कमी-कमजोरीहरु सुधार्न सुझाव दिनुभयो । त्यस्तै सांसद बस्नेतद्वारा सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको अनन्तलिङ्गेश्वर महादेब मन्दिर र नवस्निर्मित सामुदायिक भवन संरक्षणको लागि भैरहेको कामको स्थलगत निरीक्षण गर्नुको साथै देखिएका कमी कमजोरीहरु सुधार्न सुझाव दिनुभयो ।
