काठमाडौँ, ११ असोज । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी यो साता २१ नेपालीको मृत्यु भएका हो । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् । ती मध्ये ३५ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।
यसैबीच गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउनआग्रह गरेको छ ।