जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस सम्पन्न

भक्तपुर, ३ असोज । जुद्ध बारुण यन्त्र भक्तपुरको ७७ औं स्थापना दिवस कोरोना संक्रमणकाबीच एक संक्षिप्त कार्यक्रम गरी सम्पन्न भएको छ ।

तत्कालीन राणा सरकारले तीन रोपनी नौ आना सार्वजनिक जग्गामा भवन निर्माण गरी वि.सं २००१ मा स्थापना भई सञ्चालनमा आएको जुद्ध वारुणयन्त्र कार्यालय सञ्चालनमा निकै कठिनाइ रहेको छ । जुद्ध बारुणयन्त्रको स्थापना दिवसका सहभागीहरुले दमकललाई नियमित रुपमा संचालन गर्नका लागि सरोकारवाला सबैले आवश्यक सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच कार्यालयले बिपद्का बेला चुस्त दुरुस्त र प्रभावकारी सेवा दिईरहेको बताउनुभयो । उहाँले श्रोत र साधनको अभावका बाबजुद पनि जोखिम मोलेर नै अग्नि नियन्त्रकहरुले आगो निभाइरहेको बताउनुभयो । उहाँले दमकललाई नियमित रुपमा संचालन गर्नका लागि सरोकारवाला सबैले बिगतमा जस्तै आगामी दिनमा पनि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हालसम्म गृह मन्त्रालय अन्तर्गत रहेको यस कार्यालय कानुन बमोजिम स्थानीय तह वा राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरण अन्तर्गत लैजाने प्रकृया भैरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर जिल्ला सानो रहेको र बिपद्का बेला समयमै जहाँ पुग्न पनि कठिन नरहेकाले यसै कार्यालयलाई जिल्लाका ४ वटै स्थानीय तहसँग समन्वय गरी संचालन गर्नुपर्ने उपयुक्त हुने बताउनुभयो ।

मध्यपुर थिमिनगरपालिकाका बरिष्ठ कानुनी सल्लाहकार केशब सिलवालले कार्यालयलाई नगरपालिकाको तर्फबाट सक्दो निरन्तर सहयोग जारी रहने बताउनुभयो । कार्यालय प्रमुख राजनप्रसाद दाहालले कार्यालयका लागि एउटा सानो दमकल अपुग रहेको बताउनुभयो ।उहाँले दमकलको सेवालाई थप चुस्त र दुरुस्त बनाउन भक्तपुरका ४ वटै नगरपालिकासँग समन्वय गरिएको बताउनुभयो ।

उहाँले कार्यालयलाई मजबुत बनाउन र कर्मचारीको बृत्ति बिकासका लागि चौतर्फी पहल गर्ने बताउनुभयो ।कार्यालय प्रमुख दाहालले करिब रु ६ करोड ८६ लाखको लागतमा २१ महिनाको कार्यादेशमा नयाँ भवन बन्ने क्रममा शिलान्यासको तयारीमा रहेको बताउनुभयो । जुद्ध वारुणयन्त्रका पूर्व कार्यालय प्रमुख तथा सुचना अधिकारी विजय धौभडेलले दमकल र जनशक्ति अभाव र जीर्ण भवनका कारण समस्या परिरहेको बताउनुभयो ।तर पत्रकार,जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय लगायत सरोकारवाला सबैको सहयोगले भक्तपुर नगरपालिका दूधपाटीमा रहेको कार्यालयले भोगचलन गर्दै आएको जग्गामा नयाँ भवन निर्माण बन्न लागेकोमा प्रसन्नता ब्यक्त गर्नुभयो ।

भक्तपुरका दमकलले भक्तपुर, काठमाडौं, ललितपुरदेखि काभ्रे, रामेछाप र सिन्धुपाल्चोकको तातोपानीसम्म सेवा दिँदै आएका छन् । यसअघिका चार दमकल बिग्रिएर जीर्ण भएको अबस्थामा कार्यालयले ४ वर्षअघि मध्यपुरथिमि नगरपालिकाले दिएको एउटा दमकल र १८ वर्ष अगाडि सिद्धी स्मृति अस्पतालले दिएको एउटा दमकल जसलाई पटक पटक मर्मत गर्दै र पुरानो एउटा ट्याङ्करले सेवा दिंदै आएको छ ।

दमकल र यहाँका कर्मचारी विगत ३ वर्षदेखि क्षतिग्रस्त भवनमा बस्दै आएका छन् ।कार्यालयमा हाल २३ जना कर्मचारी कार्यरत छन् ।आगलागीका घटना अत्यधिक हुने मौसममा आगो नियन्त्रण गर्न तयारी अवस्थामा रहनुपर्ने भक्तपुरका दमकल लामो समयदेखि जीर्ण अवस्थामै रहेका छन् ।विसं २००१ मा अमेरिकाबाट ल्याइएको मोडेस, २०२२ डेनिस दमकल र २०३२ सालमा ल्याइएको बेलायती म्याग्रिस दमकल वर्षौदेखि बिग्रिएर थन्किएका छन् । सरकारले दमकलको जिम्मेवारी स्थानीय निकायलाई दिने निर्णय गरेपछि ललितपुर र काठमाडौंको दमकल स्थानीय निकायले लिए पनि भक्तपुर नगरपालिकाले भने दमकलको जिम्मेवारी लिन मानेको छैन ।

भक्तपुर नगरपालिकाले आवश्यक परे आफँै दमकल खरिद गर्ने तर जुद्ध बारुण यन्त्रको दमकल जिम्मा नलिने जनाएपछि अहिले कार्यालयलाई कि जिल्लाका ४ वटै स्थानीय तह अन्तर्गत स¬ंयुक्त रुपमा राख्ने वा बिपद प्राधिकरण अन्तर्गत लैजाने प्रकृया भैरहेको बताईएको छ । आगो नियन्त्रणका लागि मिलेसम्म सबै दमकल मर्मत गरेर वा नयाँ किनेर भएपनि थप दमकल सञ्चालनमा ल्याउन जरुरी रहेको स्थानीय वासिन्दा बताउँछन् ।

कार्यालयले नेपालमै पहिलो पटक बिभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालिम समेत यस अघ नै दिएको छ । बेल्जियमबाट आएको ‘फायर फाइटर फर नेपाल’ को १५ जना विशेषज्ञ टोलीले पाँचदिनसम्म बिभिन्न जिल्लाका ७० जनालाई तीन प्रकारको तालिम दिएको थियो । जुद्ध बारुण यन्त्रका कर्मचारीले आगलागी नियन्त्रणमा जाँदा आजसम्म आगो ननिभाई नफर्केको र सडक दुर्घटना,भुकम्प,ईनारमा मान्छे खस्दा र भेल,बाढी र खोलाले मान्छे बगाउँदा पनि ज्यानको बाजी लगाएर उद्दार गर्दै आएको कार्यालयले जनाएको छ ।

७७ औं स्थापना दिवस कार्यक्रममा जिसस प्रमुख गेलाल,प्रजिअ पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी तारादेबी थापाले कार्यालयका कर्मचारी हेभी फायरम्यान केशब श्रेष्ठलाई बर्षको सर्बाेत्कृष्ट, फायरम्यान केशब चापागाईं,सवारी चालक बिकास त्वायना र कार्यालय सहयोगी निशा बुढाथोकीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो । सो अवसरमा दाता बिएम सप्लायर्सका प्रमुख धु्रवकुमार श्रेष्ठ र मध्यपुर थिमि नगरपालिकालाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।  मन्त्रालयका अनुसार संखुवासभाको

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान

काठमाडौँ, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद