चाँगुनारायण नगरपालिकाद्वारा बेरोजगार युवालाई निर्ब्याजी ऋण, प्रत्येक छात्राको खातामा वार्षिक नगद

भक्तपुर, २५ भदौ । रमेश गिरी । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्किएका र नगरभित्र बेरोजगार रहेका युवावर्गलाई लक्षित गरी चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वनमा ल्याएको छ ।

बेरोजगार युवाहरुलाई स्थानीयस्तरमा स्वरोजगार बनाउने र फर्किएर विदेश जानु पर्ने अबस्थाको अन्त्य गर्ने, गराउने उदेश्यले नगरपालिकाले बेरोजगार युवालाई निब्र्याजी तीन लाख रुपैया ऋण प्रवाह गर्न नगरपालिकाको सातौ नगरसभाले पारित गरेको ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ आजबाट कार्यान्वनमा ल्याएको हो ।

नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, “नगरपालिकाले पर्यटन र कृषिलाई आधार बनाएर स्थानीय युवा र कोरोनाका कारण विदेशबाट फर्किएका बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएका हाँै, स्थानीय तहमा यो नेपाल मै पहिलो कार्यक्रम हो, नगरपालिकाले शून्य प्रतिशत व्याजमा ऋण प्रवाह गर्दै स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने र उद्यमको क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।”

यसवर्ष ९०० युवालाई निव्र्याजी ऋण प्रवाह गरेर उद्यमशील बनाउने र बैंकमा तिर्नुपर्ने व्याज नगरपालिकाले तिरिदिने भएको छ । प्रमुख मिश्रका अनुसार तत्कालका लागि रु तीन करोड बैंकमा जम्मा गरेर उक्त कार्यक्रमबाट युवाले लिएको ऋणको व्याज नगरपालिकाले व्यहोदिर्ने र युवालाई बैंकले बिना धितो ऋण दिने व्यबस्था गरेको छ ।

ऋण लिनेहरुले आगामी पाँचवर्ष भित्र ऋण तिरिसक्नु पर्नेछ । मासिक रु पाँच हजारको दरले किस्ता तिरे पनि पाँचवर्षमा ऋण चुक्ता गर्न सकिने गरी व्यबस्थापन गरेको छ ।

यो कार्यक्रमले हालै कोरोना भाइरसबाट रोजगारी गुमाएर फेर्केका युवाले स्थानीयस्तरमा उद्यमी बनेर काम गर्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसका लागि नगरपालिकाले छुट्टाछुट्टै कार्यविधि नै बनाई पारित गरेर कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अधिकारी, वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालको रोहबरमा नगरप्रमुख मिश्र र नेपाल बैँक लिमिटेडका सि.ई.ओ कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको नगरपालिकाको सुचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिनुभयो ।

सम्झौता अनुसार छनौटमा परेकालाई बैंकले ऋण दिने र त्यस ऋण वापतको व्याज नगरपालिकाले तिरिदिने उहाँको भनाइ छ । ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ र ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ दुबै कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका र बैंँकबिच सम्झौता भएको न्यौपानेले जानकारी दिनुभयो ।

त्यसैगरी नगरपालिकाले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । चाँगुनारायणका सबै सामुदायीक विद्यालयमा अध्यनरत स्थानीय छात्राको शिक्षा र सुरक्षित भविष्य निर्माणमा टेवा पुर्याउँदै बालविवाहलाई निरुत्साहित गर्ने उदेश्यले यो कार्यक्रम लागू गरेको नगरप्रमुख मिश्रको भनाई छ ।

यसका लागि नेपाल बैँक लिमिटेडले कक्षा १ देखि अध्ययन गरेका छात्राहरुको व्यक्तिगत खाता खोलिदिने भएको छ । छात्रालाई बैंकले निःशुल्क खाता खोलेर रु १०० खातामा जम्मा गरिदिने छ । नगर प्रमुख मिश्रले भन्नुभयो, “नगरपालिकाले प्रत्येकवर्ष एक छात्राको खातामा रू चारहजार जम्मा गरिदिने छ । यसरी खातामा जम्मा भएको रकम छात्राहरूले सामुदायीक विद्यालयबाटै माध्यामिक तह अर्थात कक्षा १२ उतीर्ण गरेपछि मात्रै झिक्न पाउनेछन् । यो कार्यक्रमले नगरक्षेत्रमा बालबिबाह गर्ने र बिच मै स्कुल छाड्ने छात्राको संख्यामा कमी ल्याउने विश्वास लिएका छाँै, यसले सामुदायीक विद्यालयप्रतिको आकर्षण थप बढाउने आशा राखेका छौँ ।”

नगरप्रमुख मिश्रका अनुसार यो कार्यक्रमले छात्राले कम्तीमा कक्षा १२ सम्म पढ्नेछन्, २० वर्ष अगाडि उनीहरुको बिवाह हुनेछैन । कक्षा १२ पछि उच्च शिक्षा अध्ययन गर्न रकम नपुगे यहीँ रकमले उच्च शिक्षा अध्ययन गर्न सक्नेछन् । अध्ययनका लागि यो रकम प्रयोग नभए सानोतिनो व्यवसाय सञ्चालन गर्न सहयोग पुग्छ भन्ने अपेक्षा गरिएको छ । यसवर्ष यहाँका सामुदायीक विद्यालयमा अध्ययनरत स्थानीय १२ सय छात्राको नाममा खाता सञ्चालन गरी रकम जम्मा गर्न सुरु गरिने छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले छात्राहरुको खातामा जम्मा भएको व्याज सहितको रकम उनीहरु २० वर्ष नपुगी झिक्न भने नपाउने व्यबस्था गरिएको बताउनुभयो । कक्षा १२ भन्दा अगाडि स्कुल छाडेमा र २० वर्ष अगाडि बिवाह गरेमा यो रकम छात्राले पाउने छैनन् । नगरपालिकामा रकम फर्कने छ । एसइइ पछि कक्षा ११ र १२ अध्ययनमा आर्थिक समस्या परेमा भने २० वर्ष अगाडि बिवाह नगर्ने शर्तमा रकम झिक्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हुम्लाको लिमी लाप्चा क्षेत्रमा चीनले भवन बनाएको बारेमा समाचार आएपछि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी

काठमाडौँ, ९ असोज । मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ललितपुर, ८ असोज । महाँकाल गाउँपालिकाले गत ५ गतेदेखि परेको अबिरल वर्षाका कारण पालिका क्षेत्रभित्र पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल