कांग्रेसमा विवाद : गुट बैठक निरन्तर, शीर्ष तहमा संवादहीनता

काठमाडौँ, २४ भदौ । कांग्रेसमा गुटका बैठक निरन्तर चलिरहे पनि शीर्ष तहमा संवादहीनता देखिएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवाद नभएको दुई महिना भयो । अनौपचारिक बैठकसमेत भएको छैन । न केन्द्रीय कार्यसमिति वा पदाधिकारीको बैठकै बसेको छ ।

महाधिवेशन नजिकिएसँगै ‘जुम’मा दैनिकजसो कार्यकर्तासँग घण्टौं संवादमा बिताइरहेका शीर्ष नेता पार्टीभित्रको बढ्दो विवाद समाधानतर्फ भने उदासीन देखिन्छन् । विवाद समाधान गर्न न सभापतिले पहल गरेका छन् न त वरिष्ठलगायत अन्य नेताकै भूमिका प्रभावकारी देखिन्छ ।

‘रामचन्द्रजीसँग मेरो कुरा भएको थियो । कोरोनाअघि (निषेधाज्ञा लागू हुनुअघि) नै भएको हो । उहाँले मान्नुभएको छैन’, उपसभापति विमलेन्द्र निधिले भने, ‘अब फेरि पहल गर्छाैं । संवादको विकल्प छैन ।’ उनले पार्टीभित्रको विवाद अन्त्य गरी महाधिवेशनतर्फ लाग्नुको विकल्प नरहेको बताए । निधि पार्टीभित्र विवाद बढ्दा सधैं मध्यमार्गी भूमिकामा देखिने गरेका छन् ।

केन्द्रीय कार्यसमितिको पछिल्लो बैठक असार २२ गते बसेको थियो । उक्त बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो । त्यसपछि दोस्रो साता शीर्ष नेतासहित पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा राप्रपा परित्याग गरेर आएका सुनील थापासहितका नेतालाई कांग्रेसमा कस्तो भूमिका दिने भन्नेमा छलफल भएको थियो । त्यसपछि कांग्रेसमा न कुनै अनौपचारिक छलफल भएका छन् न त औपचारिक बैठक नै ।

पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठन र भ्रातृसंस्थाको समयावधि थपका विषयलाई लिएर पौडेल समूहले असन्तुष्टि जनाउँदै आएको छ । गत जेठमा पार्टी सभापतिलाई भेटेरै विरोध जनाएको पौडेल समूहले विभाग गठन पार्टीको विधान र निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै खारेजीका लागि निर्वाचन समितिमा उजुरी नै दिएको थियो ।

सभापतिले विधानविपरीत निर्णय गर्दै गएको दाबीसहित पौडल समूह आक्रामक रूपमा जाने तयारी गरेको छ । ‘मुलुकमा कम्युनिस्टहरूको एकलौटी छ । सरकार लोकतन्त्र र संविधानको आवरणमा मुलुकलाई एकदलीय व्यवस्थातर्फ उन्मुख गराउन सक्रिय छ । कोभिडको महामारीमा जनता आतंकित छन् । सरकारको ध्यान त्यसतर्फ गएको छैन’, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘यस्तो अवस्थामा पार्टीभित्र एकता बनाएर जानुपर्ने हो । तर, एकता भनेको विधिविधान पद्धतिविरुद्ध गएर नेतामुखी हुनु होइन । विधिभन्दा नेता ठूलो भन्ने कुरालाई स्वीकार्न सकिन्न ।’ पार्टीको विधान र मान्यतालाई सिध्याउने काम भइरहेको उनको दाबी छ । ‘यसको अन्त्य हुनुपर्छ भन्ने हाम्रो अडान हो’, उनले भने ।

अघिल्लो वर्ष महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने माग गर्दै पौडेल समूहले मंसिर २६ गतेदेखि केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार गरेको थियो । असन्तुष्ट समूहको बहिष्कारबीच देउवाले बहुमतबाट महाधिवेशन कार्यतालिका पारित गरेपछि विवाद चर्किएको थियो । त्यति बेला केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा युवा नेताले सभापति र वरिष्ठ नेतालाई छुट्टाछुट्टै भेटेर संवादको वातावरण बनाएका थिए । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लुक्ला

काठमाडौँ, ८ असोज । संघिय संसद महिला तथा सामाजिक समितिले नेपाल बालसंगठनको विद्यमान अवस्था र सुधारको लागि ६ बुँदे निर्देशन

काठमाडौँ, ८ असोज । सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार

काठमाडौँ, ८ असोज । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम