काठमाडौँ, २३ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
कोभिड–१९ को महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समीक्षा गर्दै उपत्यकाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताउनुभयो ।
उहाँले निश्चित मापदण्ड प्रयोग गर्दै सामाजिक व्यवहारमा सुधार ल्याउनुपर्ने र आफू सुरक्षित भएर अरुलाई पनि सुरक्षित बनाउने गरी सामाजिक चेतना बढाउनुपर्ने बताउनुभयो । लकडाउन खुकुलो भएपछि बढेको आवत जावतले उपत्यका सङ्क्रमणको हब बनेको उल्लेख गर्दै उहाँले सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेशन निर्माण गर्दै निजी अस्पताल र शिक्षण अस्पतालहरुसँग सम्झौता गरेर अगाडि बढिरहेको जानकारी दिनुभयो ।
उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुग्नुभएका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेशनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।