काठमाडौँ, २३ भदौ । रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन् । कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ ।
केही दिनअघि चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिकामा सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन् । सरुवा भइ आएका अधिकृतलाई के गर्ने भन्ने छलफल मेयरले गरिरहेका छन् ।
कटहरिया नपाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र गरुडा नपामा लेखा अधिकृत एउटै व्यक्ति हुन् । उनी दुईवटा नपामा फरकफरक जिम्मेवारीमा छन्। गरुडा नपाका लेखा अधिकृत साह गत आर्थिक वर्षदेखि कटहरिया नपाको प्रमुख प्रशासकीय अधिकृत भएका हुन् । उनले दोहोरो सुविधा लिँदै आएको स्रोत बताउँछ ।
एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको जिम्मेवारीमा बस्नु नैतिकताविपरीत भएको जानकार बताउँछन् । अधिकृत साहले दुवै तहमा काम गर्दै आएको स्वीकार गर्दै एउटा तहको जिम्मेवारी छाड्ने प्रतिक्रिया दिएका छन् । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।