एजेन्सी, २१ भदौ । बङ्गलादेशको मस्जिदमा भएको ‘शङ्कास्पद ग्यास विस्फोट’ मा परी मृत्यु हुनेको संख्या २० पुगेको प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
नारायणगञ्जको मध्यक्षेत्रमा रहेको उक्त मस्जिदमा शुक्रबार साँझ इस्लाम धर्मावलम्बीहरूले प्रार्थना गरिरहेका समय एक्कासी विस्फोट हुँदा त्यहाँबाट आगोको ठूलो ज्वाला निस्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त घटनामा परी दर्जनौँ इस्लाम धर्मावलम्बीहरू सख्त घाइते भएका छन् । घटनामा एक ७ वर्षीय बालकको समेत मृत्यु भएको छ । विरामीको उपचारमा सम्लग्न अस्पतालका संयोजक लाल सेनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका बताए ।
डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेका मध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान सुरू भइसकेको सुरक्षास्रोतले बताएको छ।