बागलुङ, २० भदौ । गण्डकी प्रदेश सरकारले बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार आएको बाढीबाट ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले राहत उपलब्ध गराइयो ।
बाढीमा बाँचेका तर घर गुमाएर विस्थापितहरुका लागि टेन्ट, मेट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामग्री, लगायत राहत सामग्री पनि आज प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हस्तान्तरण गर्नुभयो ।
उक्त सामग्री हामीले आजै पोखराबाट लगिएको थियो । उक्त सहयोग तत्कालको राहत भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले अरु धेरै काम प्रदेश सरकारले गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि तत्काल सहयोग गर्छौं । यसमा पालिका र संघको पनि सहयोग हुनेछ । स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्नेछौं ।’
खराव मौसमका कारण घटना स्थलमा पुगी राहत तथा उद्धारका कार्यहरु गर्ने आफ्नो तयारी भएता पनि उक्त कार्य तत्काल गर्न नसकेकोमा उहँँले त्यहाँका स्थानीयवासीसँग क्षमा समेत माग्नुभएको छ । उहाँले भन्नुभयो, ‘भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ थियो र यो विपत्ति हामीमाथि आइपर्यो । अब बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्नुपर्छ । यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व गर्ने छैन । बाढी गएकै दिन घटनास्थल पुग्ने चाहना पूरा गर्न मौसमी प्रतिकूलता बाधक बन्यो । त्यसका लागि क्षमा प्रार्थी छौं ।’