कोरोना सङ्क्रमण रोक्न भक्तपुरमा उच्च सतर्कता: यस्तो छ नगरपालिकाहरुको तयारी

भक्तपुर, १२ भदौ । रमेश गिरी । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तिब्र तयारी सुरु गरिएको छ ।

जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पीसीआर परीक्षणलाई समेत फराकिलो बनाउदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यबस्थापन गर्नेबारेमा जिल्ला विपद व्यबस्थापन समिति, जिल्ला समन्वय समिति, नगरपालिका र सुरक्षा निकायसंग छलफल गरी कार्य योजना अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुरमा कम्तीमा दुईहजार क्वारेन्टिन बनाइने गरी तयारी गरिएको छ, भोलीसम्ममा सानोठिमी र बोडेमा शय्या तयार हुन्छ, कोरोना परीक्षणको दायरा फराकिलो गर्दै पीसीआर परीक्षण बढाउने र उपचारको व्यबस्था सहज गराउनेबारेमा नगरपालिकासंगको छलफलमा सहमत भएका छन् ।”

संघीय सरकारसंग मिलेर जिल्लाका प्रत्येक नगरपालिकामा न्युनतम दुई हजार ब्यक्तिका दरले भक्तपुरको चार नगरपालिकामा आठ हजारको पीसीआर परीक्षण गर्ने योजना बनाएको, नगरपालिका, स्वास्थ्य संस्था, रेडक्रस, सुरक्षाका तीनवटै निकायलाई परिचालन गरी क्वारेन्टिन, आइसोलेसनमा लैजाने, एम्बुलेन्सको व्यबस्थापन गर्ने गरी योजना बनाएको बताउनुभयो ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारको निर्देशन अनुसार खरिपाटीस्थित विद्युत प्राधिकरणको क्वारेन्टिनलाई २०८ शय्याको आइसोलेसन तयार पारेर लक्षण नभएका विरामी राख्न थालिसकेको जानकारी दिनुभयो । त्यसस्थानमा शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नेतृत्वमा भक्तपुर अस्पताल, क्यान्सर अस्पतालको समन्वयमा स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाको समन्वयमा सानोठिमीमा रहेको सीटीईभीटीको टिआईटिआई र यूसेपको होस्टेल भवन तथा बोडेस्थित कृषि विकास बैंकको होस्टेल भवनमा २०० शय्याको एकिकृत क्वारेन्टाइन निर्माण कार्य भोलीसम्ममा सम्पन्न गरिसक्ने बताउनुभयो ।

नेपाली सेना वीर दल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेलले खरिपाटीस्थित आइसोलेसनदेखि एकिकृत क्वारेन्टाइनसम्ममा सुरक्षाका व्यबस्था सेनाले गर्ने जानकारी दिदै आइसोलेसन अन्य व्यबस्थापनमा पनि सेना खटिएको जानकारी दिनुभयो ।

नगरपालिकाहरुको यस्तो छ तयारी

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना सङ्क्रमण रोक्न पीसीआर परीक्षणलाई तिब्र बनाएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म मध्यपुरथिमि नगरपालिकाका ३५ सय स्थानीयको पीसीआर परीक्षण गरिसकेका छौ, आगामी १४ गतेभित्र थप दुई हजार स्थानीयको पीसीआर परीक्षण गर्न स्वाब संकलन तिब्र पारेका छांै ।”

उहाँले मध्यपुरथिमिका जोखिम युक्त क्षेत्रका बासिन्दाको, कोरोना सङ्क्रमितका परिवार, उनीहरुको कन्ट्रयाक टेसिङ्गमा आएकाहरुको पहिचान गरी स्वाब संकलन र परीक्षण तिब्र पारेको जानकारी दिनुभयो । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको ल्याबमा स्वाब संकलन गरेपछि २४ घण्टाभित्र पीसीआरको रिपोर्ट दिने गरेको जानकारी दिदै उहाँले त्यसअबधीमा नगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने गरेको बताउनुभयो । उहाँले सङ्क्रमित क्षेत्रमा भाइरस निर्मलीकरण गर्न स्प्रे छर्कने, जनचेतनामूलक सन्देश सहितको माईकिङ्ग गर्ने, केहीदिन भित्रै अस्पतालको सेवा सूचारु गर्ने, प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्ने, नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा पालना गर्न कडाई गर्ने, थिमिभित्र तयार पारेको क्वारेन्टिन र आइसोलेसनमा सङ्क्रमितलाई राख्ने व्यबस्था गर्ने लगायतका कामहरु भइरहेको जानकारी दिनुभयो ।

यता चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख चिरञ्जिवी तिम्सिनाले नगरपालिकाले दुई वटा मुख्य र ६ वटा सहायक समूह बनाएर विदेशबाट फर्किएका, बिभिन्न जिल्लाबाट फर्किएकाहरुको अनुसन्धान गर्ने, सङ्क्रमितको सम्पर्कमा रहेकाका कन्ट्याक ट्रेसिङ्ग गर्ने, सङ्क्रमितसंग टेलिफोन र अन्य माध्यमबाट सम्पर्कमा रहने, जनचेतना फैलाउने कार्य गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नगरपालिकालाई आवश्यक पर्ने क्वारेन्टिन र आइसोलेसन बनाइएको छ, जनकपुर इन्जिनियरिङ्ग कलेजमा क्वारेन्टाइन बनाइएको छ, आइसोलेसन पछि बनाउने तयारी छ, खरिपाटीको आइसोलेसन पनि छ, दुवाकोटमा पनि उपचार सुरु हुदैछ, समस्या पर्ने अबस्था छैन ।”

यता सूर्यविनायक नगरपालिकाले स्वास्थ्य संयन्त्र बनाएर जोखिम रहेको प्रत्येक वडाको टोलटोलमा गएर स्वाब संकलन गर्ने, कोभिडबारे जानकारी दिने कार्य गरेको छ । नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले भन्नुभयो, “सङ्क्रमित देखिएका स्थानलाई केन्द्र बनाएर सघन ढंगले र कम प्रभाबित वडामा रेन्डम सेम्बोलिङ् गर्दै स्वाब संकलन गरी परीक्षण गरेका छौ, कोरोना जोखिम भएका जिल्लाबाट आएकाको फोन ट्रेसिङ्ग गरि ब्यक्ति पत्ता लगाउने, उनीहरुको पीसीआर परीक्षण गर्ने, जोखिम रहेका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने, लक्षण देखिएका बिरामीलाई कोभिड अस्पताल लैजाने, लक्षण नदेखिएकालाई मापदण्डनुसार होम क्वारेन्टाइनमा राखेर नियमित फोनबाट सम्पर्क गर्ने, घरमा बस्न अनुकुल नभएकालाई खरिपाटी, बोडे लगायतका आइसोलेसनमा पठाउने गरी काम गरिरहेका छौ ।”

यता भक्तपुर नगरपालिकाले यसवर्षको इन्द्र जात्रा पर्वमा गरिने कार्यक्रमहरु स्थगित गरेको, विदेशबाट आउनेहरुका लागि क्वारेन्टिनको व्यबस्था भएको, स्थानीयलाई होम क्वारेन्टिन मै राखेको, सङ्क्रमितलाई भक्तपुर अस्पताल पठाउने गरिएको, एकिकृत आइसोलेसनमा पनि पठाउने तयारी भएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकामा करिब २०० को पीसीआर परीक्षण गरिएको जानकारी दिदै उहाँले दैनिक स्वाब संकलन गरी परीक्षणमा पठाइरहेको, जनचेतना फैलाउने, भाइरस निर्मलीकरणको स्प्रे छर्कने काम गरिरहेको जानकारी दिनुभयो ।

स्वास्थ्य टोली र जनप्रतिनिधी लिएर आफै टोलटोलमा गएर स्वाब संकलन गर्ने र जनचेतना फैलाउने काम भइरहेको जानकारी दिदै उहाँले पुर्वमन्त्री तथा सांसद महेश बस्नेत, नगरपालिकाका प्रमुख बासुदेब थापा, वडा अध्यक्षहरु र नगरपालिकाका स्वास्थ्य टोली स्वास्थ तथा जनसंख्या मन्त्रालयका बिज्ञ टोलीहरुका बिचमा छलफल गरी विशेष तयारी गरिएको ज्ञवालीले बताउनुभयो । नगरपालिकामा ७० जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जानकारी दिदै सङ्क्रमण फैलिन नदिन विशेष अभियान थालेको बताउनुभयो । भक्तपुरमा आज एकै दिन ५४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । आजसम्म भक्तपुरमा ४२९ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाको मिटरब्याजलगायत ऋण मिनाहा गर्ने तयारी भइरहेको बताएकी छन्

काठमाडौँ, १६ चैत । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायुसँग जोडिएका अधिकांश कानुनी व्यवस्था एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताएका छन्

काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।