घट्टेखोला–बुढिगण्डकी करिडोरको शिलान्यासः भक्तपुरमा ७ वटा करिडोर निर्माण गर्ने सांसद बस्नेतको घोषणा

भक्तपुर, ३० साउन । समय, आवश्यकताको साथमा जनताको मागलाई एक पछि अर्को गर्दै पुरा गर्ने क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ४, ५ र ७ हुँदै बग्ने घट्टखोला–बुढिगण्डकी खोलाको करिडोरको आज शिलान्यास गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उक्त करिडोरको शिलान्यास गर्नुभएको हो । रु १० करोडको लागतमा अधिकार सम्पन्न बाग्मती एकिकृत विकास समितको आयोजना शुरु गरिएको उक्त करिडोर समानान्तर निर्माण सेवा प्रा.लि.ले आगामी चार महिनामा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरिएको हो ।

खोलाको दाँया बाँया ८–८ मिटरको सडक र खोला ८ मिटरको गरी जम्मा २४ मिटरको उक्त करिडोर पहिलो चरणमा दाँया बाँया एक एक किलोमिटर गरी जम्मा दुई किलोमिटर निर्माण गरिने भएको छ । त्यस्तै घट्टेखोला हनुमन्ते दोभानबाट करिव तीन किलोमिटर रहने उक्त करिडोरलाई निरन्तर बजेटको व्यवस्था गरी निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । यो करिडोर निर्माण सम्पन्न हुने भएसँगै वर्षायाम शुरु भएसँगै मानविय तथा अन्य विभिन्न प्रकारका क्षती न्युनिकरणको साथमा पूर्व पश्चिम सडकसँग उत्तर दक्षिण सडकको सञ्जाल जोड्ने महत्वपूर्ण करिडोरको रुपमा समेत स्थापीत हुने भएको छ । यो सँगै उत्तर दक्षिण सडकमा हुने सवारी जाम तथा सवारी दुर्घटना समेत कम हुने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतमा विकासले पछि परेको भक्तपुर जिल्लामा अब भक्तपुरले विकास खोज्नेभन्दा पनि विकासले भक्तपुर खोज्ने बताउनुभयो । भक्तपुरमा सात वटा करिडोरहरु निर्माण हुने बताउँदै उहाँले विकासमा भक्तपुरमा अब कुनै पनि प्रकारको अभाव र प्रभावले नछेक्ने बताउनुभयो ।

यो वा त्यो बहानामा विकास रोक्ने र भ्रम छर्नेको कुनै औचित्य नभएको उल्लेख गर्दै उहाँले भक्तपुरमा मनोहरा करिडोर, हनुमन्ते नदीको करिडोर र हनुमन्तेसँग जोडिएका पाँचवटा करिडोर डिपिआर गरिरहेको जसमा घट्टेखोला बढीगण्डकीको काम शुरु भएको, गोदावरी खोलाको करिडोर, खहरे खोला करिडोर (प्रस्तावित वीर अस्पताल जाने सडक), खस्र्याङ्खुर्सुङ खोलाको करिडोर, काल्चा खोलाको करिडोर (सूर्यविनायक चोकदेखी घ्याम्पेडाँडासम्मको लिङ्क रहेको) निर्माण हुने बताउनुभयो ।

हनुमन्ते करिडोरलाई दुई अर्ब ८५ करोड बजेट पार्न सफल भएको साथै मनोहरा करिडोरलाई करिव एक अर्ब ५० करोड बजेट प्राप्त भएको जानकारी गराउँदै उहाँले करिडोर निर्माणसँगै भक्तपुरको मेरुदण्डको रुपमा कार्य गर्ने साथै प्राकृतिक विपत्तीको अन्त्य हुने बताउनुभयो । निर्वाचनको समयमा आफुले गरेको प्रतिवद्धता अनुसार हुनमन्ते तथा मनोहरा करिडोर निर्माण गर्ने रहेको र सोही उद्देश्य अनुसार काम अघि बढिरहेको उल्लेख गर्दै हनुमन्तेमा तटबन्द बनाउने कार्य करिब ९० प्रतिशत कार्य सम्पन्न भईसकेको र अब २०/२० मिटरको सडक निर्माणको चरणमा पुगेको जानकारी गराउनुभयो ।

हनुमन्ते नदीमा भक्तपुरको करिव ८५ प्रतिशत पानी बग्ने नदी रहेको उल्लेख गर्दै उहाँले सोचेभन्दा छिटो करिडोर निर्माण अगाडी बढेता पनि कतिपयले विवाद गरेका कारण निर्माणमा केही ढिलाई भएको समेत बताउनुभयो ।

जग्गा एकिकरण आयोजनाको लागि पाँच वटा उपभोक्ता समिति बनाई करिडोर निर्माणलाई अघि बढाउने प्रकृया अघि बढेकाले जनताका समस्या समाधान उक्त समितिले नै गर्ने जानकारी गराउँदै करिडोर बन्दा हनुमन्तेमा दर्जनौं पुलहरु बनाउनुपर्ने आवश्कता देखिएको र निर्माणको चरणमा समेत रहेको र बाँकी आवश्यकता अनुसार बनाउँदै जाने समेत बताउनुभयो ।

भक्तपुरमा कोरिडोरको साथ साथै दर्जनौं ठूला सडकहरु समेत निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘उत्तर दक्षिण जोड्ने सडकमा पलासे डोलेश्वर खण्डमा १७ करोडको लागतमा निर्माण सम्पन्न भईसकेको, आदर्श वसपार्कबाट घ्याम्पेडाँडासम्म जाने सडक बन्ने क्रममा रहेको, जगाती चोकबाट आशापुरीसम्म जाने सकड बनिसकेको, पाण्डुबजारबाट गुण्डु जाने सडक करिब ७० प्रतिशतभन्दा बढी बनिसकेको, चुनदेवीबाट कटुञ्जे जाने सडक, सल्लाघारी सिर्जनानगरबाट लुभुसम्म जाने सडक तिव्र गतिमा बनिरहेको, थिमीबाट दधिकोट जाने सडक बनिरहेको, चारदोबाटोबाट बालकोट हुँदै टिकाथलीसम्म जाने सडक बनिरहेको, कैशलटारबाट विरुवासम्म जाने सडक बनिरहेको लगायतका धेरै उत्तर दक्षिण जोड्ने सडकहरु बनिरहेको छ । त्यस्तै मध्यपुर तर्फ भाटभटेनीबाट निकोसेरा हुँदै कृषी विकास तालिम केन्द्र–स्वारस्वतीखेलसम्म जाने सडक बनिरहेको, सानो ठिमीबाट बोडे जाने सडक बनिसकेको, भिमसेन चोकबाट मुलपानी जाने सडक बनिरहेको, बालकुमारीदेखी रानीकोटसम्मको सडक आगामी ४ गते शिलान्यास गर्ने तयारी रहेको छ ।’

सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले विकास र समृद्धिको लागि भक्तपुर देशकै उदाहरणीय जिल्लाको रुपमा रहेको उल्लेख गर्दै भक्तपुरमा नयाँ नगर योजनाको मास्टर प्लान अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले उपत्यकाको विकासको केन्द्रको रुपमा समेत भक्तपुर स्थापीत भएको बताउनुभयो ।

अधिकार सम्पन्न बाग्मती एकिकृत विकास समितका प्रमुख लिला ढकालले भक्तपुरमा समृद्धिका ढोकाहरु एक पछि अर्को गर्दै व्यापक मात्रामा खुल्ला हुँदै गएको बताउनुभयो । भक्तपुरले जनताको पिरमर्का बुझ्ने नेतृत्व सांसद बस्नेतलाई पाएको उल्लेख गर्दै भक्तपुरले विकासको अध्यारो यात्राबाट उज्यालो यात्रालाई व्यापकमात्रामा अघि बढिरहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले राजनीतिक सक्रियतासँगै कर्मचारीले पनि सक्रियतामा दैडिएको बताउनुभयो । नगरपालिकाले कुनै पनि बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्दै अघि बढेको जानकारी गराउँदै उहाँले नगरपालिकाको विकासको काममा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई उच्च सवाधानी अपनाउँदै कुनै दिन पनि विदा नदिई काम गरिरहेको बताउनुभयो । नगरपालिका भित्र हुने कुनै पनि विकासले जानतालाई मार नपर्ने उल्लेख गर्दै उहाँले जग्गा वेच्ने नभई विकास वेच्ने गरी उपभोक्ताले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले विकास निर्माणका कार्यहरुमा कुनै पनि समस्या आए त्यसको समाधान स्थानीयवासी तथा जनप्रतिनिधिले गर्ने उल्लेख गर्दै समयमा नै आयोजना सम्पन्न गर्न जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनुभयो । उहाँले विगतका कामहरुलाई शिक्षाको रुपमा लिई आगामी दिनमा अघि बढ्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोटी, ९ असोज । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ

दार्चुला, ९ असोज । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत अबस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो

काठमाडौँ, ९ असोज ।  बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको