हनुमन्ते कोरिडोर बनाउँदा घरजग्गा पर्नेलाई क्षतीपूर्ती दिइन्छः सांसद बस्नेत

भक्तपुर, २५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासको मेरुदण्डको रुपमा हेरिएको हनुमन्ते कोरिडोर तथा हनुमन्ती जग्गा एकिकरण आयोजना एकै पटक दुई वटै आयोजना अघि बढेको जानकारी गराउँदै कोरिडोर बनाउँदा घरजग्गा पर्नेलाई क्षतीपूर्ती दिईने बताउनुभएको छ ।

आयोजनालाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ दुवै आयोजना सञ्चालनको लागि पाँच वटा क्लष्टरमा उपभोक्ता (सहयोग) समिति गठन गरी अघि बढ्ने योजना अनुसार शनिवार मध्यपुर अस्पताल हुँदै शंकर स्कुल जाने सडकदेखि बयरला ९चाणक्य कलेज० बर्मनगर पश्चिम भागसम्मको क्लष्टर नं. २ को समिति गठन कार्यक्रममा बोल्दै सांसद बस्नेतले उपभोक्ता समितिको गठनसँगै डिपिआरको प्रकृया शुरु हुने र आजोजना कार्यान्वयन गर्दा स्थानीयवासीलाई अन्याय नपरोस् सजग रहेको जानकारी गराउनुभयो । कोरिडोर निर्माणका क्रममा घरहरु परेमा नेपाल सरकारले क्षतीपूर्ति दिने जानकारी गराउँदै उहाँले आवश्कता अनुसार मन्त्रीपरिषद्को निर्णय गराएर भए पनि समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

समस्या समाधानको जिम्मा उपभोक्ता समितिलाई जिम्मेवारी रहेको बताउँदै उहाँले जनतामा नेतृत्व परिवर्तन भएसँगै योजना, लक्ष्य तथा उद्देश्य समेत परिवर्तन हुने त हैन ? भन्ने प्रश्न प्रति लक्षीत गर्दै भन्नुभयो, ‘नेतृत्व अस्थायी हुने तर राज्यका कुनै पनि निकाय स्थायी हुने भएकाले कुनै पनि योजना सफल हुन्छ । वर्तमान जनप्रतिनिधि तथा नेतृत्वले गरेका कामहरुको आगामी नेतृत्वले समेत निरन्तरता दिन्छ । जनतालाई धोका हुँदैन ।’

जग्गा प्लालिङमा भक्तपुरको अनुभव सवै जिल्लाको भन्दा उत्कृष्ट रहेकाले हनुमन्ती जग्गा एकिकरण आयोजना घनिभूत रुपमा जनतालाई मारमा नपर्ने गरी सफल हुनेमा विश्वास दिलाउँदै उहाँले भन्नुभयो, ‘हनुमन्ती जग्गा एकिकरण नेपालकै नमुना आयोजना बनाउने गरी अघि बढेका छौं, जनतालाई अन्याय पर्न दिईने छैन । कुनै पनि आयोजना तथा विकास रोक्न अदालत तथा अख्तियारमा मुद्धा हाले त्यो समाजकै लागि घातक हुनेछ ।’

करिव ५३ सय रोपनी जग्गामा जग्गा एकिकरण आयोजना सञ्चालन हुने जानकारी गराउँदै उहाँले आयोजना स्थलको जग्गाको क्षेत्रफल घट्ला तर मुल्याङ्कन बढ्ने गरी काम भइरहेको बताउनुभयो । हनुमन्ते नदीको कोरिडोर भक्तपुरको समृद्ध नेपाल र सुखी नेपालीको लागि उदाहरणीय स्थालको रुपमा विकास हुने बताउँदै उहाँले सवैले मिलेर काम गरे कोरिडोर तथा प्लानिङको काम गर्न दुई वर्ष पनि नलाग्ने समेत स्पष्ट पार्नुभयो ।

तीन चरणमा गरी करिव तीन करोडको लागतमा निर्माण कार्यलाई अघि बढाइएको जानकारी गराउँदे उहाँले कोरिडोर निर्माणले समृद्ध नेपाल सुखी नेपालीको मुख्य आधार समेत हुने बताउनुभयो । कोरिडोर निर्माणले सडक तथा नदीको व्यवस्थापन मात्र नभई व्यवस्थित वस्तीको विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा उहाँले पूर्ण विश्वास लिएको समेत बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, दुवै नगरपालिकाका उपप्रमुख जुना बस्नेत, अञ्जनादेवी मधिकर्मी, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी जनताको उपस्थिती रहेको थियो ।

उपभोक्ता (सहयोग) समिति गठन

जग्गा एकिकरण आयोजना धेरै समस्या समाधान गर्ने अचुक औषधीको रुपमा हेरिएको छ । त्यसैले जनताको समस्यालाई जनताले नै समाधान गर्दै दुवै आयोजना सँगसँगै लैजाने गरी उपभोक्ता (सहयोग) समिति गठन गरिएको छ । पाँच वटा क्लष्टरमा केही दिन अघि क्लष्टर नं. १ को समिति गठन गरिएको थियो । त्यस्तै शनिवार क्लष्टर नं. २ मा २१ सदस्यीय समिति गठन गरिएको छ । वडा नं. ४ का वडाध्यक्ष उत्तम थापाको संयोजकत्वमा गठन गरिएको समितिमा सहसंयोजक ओम प्रकाश श्रेष्ठ रहनुभएको छ । त्यस्तै सदस्यहरुमा रन्जना खनाल, मिलन श्रेष्ठ, हेमा खतिवडा, अर्जुन खड्का, श्याम खनाल, सन्तमान श्रेष्ठ, रत्न प्रजापति, रेनु श्रेष्ठ, सुनज मानन्धर, श्याम मानन्धर, विजय जगुलु, सुष्मा श्रेष्ठ, ज्ञानराम क्षेष्ठ, कविन्द्र श्रेष्ठ, विश्वस श्रेष्ठ, सुनिल श्रेष्ठ, रामसुन्दर श्रेष्ठ, ज्ञानप्रसाद चौंलागाई, विष्णुभक्त साहु श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको