उपेन्द्र केसी
वामदेव गौतमले खेलेको पछिल्लो भूमिकाका कारण नेकपा दुर्घटना हुनबाट फेरी पनि जोगिएको हो । उनले खेलेको भूमिकाका कै कारण नेकपा फुटको डीलबाट फर्किएको हो । गौतमको ६ बुँद्धे प्रस्तावले केही समय थामिएको नेकपा फुटको खेल प्रचण्ड–माधवको गुटीय पत्रकार भेलासंगै फेरी अघि बढेको छ । केही दिन अघि कलेजमा गरिएको पत्रकार भेलामा नेताहरुले पोखेको आक्रोशपूर्ण अभिव्यक्तिले यो पार्टी अब जुटेर अघि बढ्ला भन्ने आशा क्षीण हुँदै गएको छ ।
वाहिर आए जस्तै सो पत्रकार भेलामा नेताहरुले प्रधानमन्त्री केपी शर्मा विरुद्ध सबै प्रकारका विरोधका हर्तकण्डा प्रयोग गरेर जान आफू निकट पत्रकारहरुलाई निर्देशन दिएसंगै अब कुनै पनि बेला नेकपामा फुट्यो भने आश्चर्य नमाने हुन्छ । प्रचण्ड–माधव नेपालहरुको सो गुटीय पत्रकार भेला पार्टी फुटको कसरतको रुपमा हेर्न थालिएको छ । उक्त भेलाको आयोजनासंगै प्रधानमन्त्री ओली र प्रचण्डबीच हुँदै आएको संवादको पनि अन्त्य भएको छ ।
प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट गरिएको यो निर्मम आक्रमण कुनै पनि हिसाबले समय सान्र्दभिक होइन । हाम्रो देशमात्रै होईन, सिगो विश्व नै कोरना विरुद्ध कष्टसाध्य संघर्ष गरिरहेको बेला पार्टी अध्यक्ष ओलीमाथि प्रचण्ड–माधव नेपालहरुले चलाएको हतियार न पार्टी, न त देशकोनै हितको पक्ष छ । कोरना विरुद्धको लडाईमा सिगो पार्टीपंक्ति एक भएर सरकारलाई सघाउँनु पर्ने बेलामा, उल्टै सरकारलाई ढाल्ने, विदेशीको डिजाइन अनरुप प्रधानमन्त्रीको तेजवोध गर्ने, सरकारलाई २४ घण्टा प्रेसरमा पारेर सरकारका काम र योजनाहरुलाई अघि बढ्नै नदिने, यो कसका लागि र किन भैराखेको छ भन्ने कुरा अब घाम जतिकै छर्लङ भएको छैन र ?
कोरानाका कारण देशको अर्थतन्त्र ओरालो लाग्ने निश्चिित छ । तीव्र गतिका साथ ओरालो लागेको अर्थतन्त्रलाई कसरी उठाउने भन्ने विषयमा नेकपा नेताहरुको छलफलको विषय हुनु पर्दथियो । ज्याला–मजदुरी गरेर खाने जनताहरु अहिले भोक–भोकै बस्नु पर्ने अवस्था पुगेका छन् ।
पर्यटन, कृषि र होटल व्यवसायलाई परिवर्तित समयमा कसरी अघि बढाउने विषय नेकपाका शीर्ष नेताहरु छलफलमा केन्द्रित हुनु पथ्यो । ज्याला–मजदुरी गरी खाने विपन्व परिवारलाई भोक–भोकै बस्नु पर्ने अवस्थाबाट उनीहरुको जीवन यापनलाई कसरी सहज बनाउने, र कोरनाको कहरबाट आम नेपाली जनताको जनजीवनलाई प्रभावित हुन बाट कसरी जोगाउने भन्ने विषयमा नेताहरुले जारी स्थायी कमिटीको बैठकमा एजेण्डा बनाउनु पर्ने थियो । त्यसरी नै लकडाउनका कारण गाउँ फर्किएका युवाहरुलाई अब गाउँमै रोजगारीका नयाँ–नयाँ अवसरहरु सिर्जना कसरी गर्ने भन्ने विषयमा नेताहरु छलफलमा केन्द्रित हुनु पथ्यो । तर,यी सबै एजेण्डालाई छोडी काम कुरा एकतिर कुम्लोबोकि ठिमितिर भने झै दुनियाँलाई रमिता देखाउँदै कम्युनिष्ट पार्टीका नेताहरु यो बेलामा पनि राजनीतिका स्वार्थका रोटीहरु सेकिरहेका छन् । नेताहरु लामो समयदेखि प्रधानमन्त्रीको राजीनामा मागको तमासा देखाएर आत्मारतीमा रमाईरहेका छन् । सरकार परिवर्तन गर्ने खेलखेलेर देशलाई अस्थिरतातर्फ धकेल्न उभ्रिरहेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई ५ वर्षका लागि जनताले जनादेश दिएका हुन । प्रधानमन्त्रीका रुपमा उनी सफल वा असफल भनेर केरकार गर्ने अधिकार पनि तिनै जनता कै हो ।त्यसैले बहुमतीय अंक गणितका जोडघटाउको खेल खल्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुमा कुनै तुक छैन् । दिन वाध्य पार्नु हुँदैन् । त्यसो गर्नु भनेको नेपाली जनताले प्रधानमन्त्रीलाई दिएको जनादेशको घोर अपमान गर्नु हो । र, त्यो लोकतान्त्रिक चरित्र र संस्कार पनि होइन ।
उता, भारतले नेपाललाई जहिले पनि संकटमा घात गर्छ भन्ने कुरा एक पटक होइन, धेरै पटक व्यवहारमा सावित भैसकेको छ । हाम्रो देश कोरोना विरुद्ध लडिरहेको बेला, भारतले कालापानी, लिपीयाधुरा र लिपुलेकमा सीमामा अतिक्रमण ग¥यो । हाम्रो देशको सीमा भारतले अतिक्रमण गरेकाले भारत सरकारको यहाँ नेकपा नेताहरुले चर्को विरोध गर्नु पर्ने हो । शीर्ष नेताहरुले भारतको मिचाह प्रवृति विरुद्ध देश व्यापीहरुपमा छलफल र वहश पार्टी भित्र र वाहिर चलाउनु पर्ने हो । तर, विडम्बना उल्टै नेकपाका शीर्ष नेताहरु दिनहूँ देशको नयाँ नक्शा जारी गर्ने प्रधानमन्त्रीको राजीनामा माग गर्दे वालुवाटार, र खुमलटारमा भेला भैराखेका छन् । र, भारती सरकारलाई नेपाली भूमी मिचे वापत खवरदारी गर्ने र मिचिएको भूमी फिर्ता लिने प्रतिवद्धता जाहेर गर्ने उल्टै प्रधानमन्त्री माथि पो विरोधका तीरहरु नेकपाका नै केही नेताहरुले सोझाईरहेकाछन् ।






