३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

काठमाडौँ, १६ साउन । ‘लो भोल्टेज’का कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुसीको खबर!

कोहलपुर-सुर्खेत १३२ केभिए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ ।

कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि सुरू हुन लागेको हो । विसं २०४५ मा १३२ केभिए प्रसारण लाइन सुर्खेतसम्म ल्याउन योजना सुरू गरिएको थियो। त्यसयता पटक–पटकका राजनीतिक आन्दोलन, अस्थिर शासन प्रणाली तथा विकासप्रति नेतृत्वमा इच्छाशक्ति नहुँदा यो आयोजना अलपत्र परेको थियो ।

प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेडसँग असार २२ गते सम्झौता भइसकेको छ । यसको सुरूआती लागत ७० करोड रुपैयाँ प्रस्ताव गरिएको छ। अब निर्माण कम्पनीले विद्युत् लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिद लगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नुपर्नेछ ।

कोहलपुर-सुर्खेत १३२ केभिए प्रसारण लाइन आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रूख कटान लगायतका काम हुने छन् । आयोजनालाई पूर्णता दिन पहल गरिरहेका सुर्खेत-२ का प्रतिनिधिसभा सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले कर्णालीमा विद्युत् विस्तार गर्न सहज हुने बताए ।

‘विद्युत् आपूर्तिमा समस्या थियो, जसले गर्दा सुर्खेतमा उद्योग स्थापनाको वातावरण बनेको थिएन’, उनले भने, ‘यो आयोजना बन्नु कर्णालीवासीका लागि ठूलो खुसीको कुरा हो, वर्षौंदेखिको समस्या अब समाधानको बाटोमा गएको छ ।’ लाइन विस्तार नहुँदा ‘लो भोल्टेज’का कारण सुर्खेत, दैलेख, सल्यान, रूकुम-पश्चिम, जाजरकोटका उपभोक्ताले हैरानी भोग्दै आएका थिए ।

आयोजनामा कोहलपुरदेखि सुर्खेतसम्म १४५ वटा पोल तथा २६ वटा एंगल टावरको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार आयोजना क्षेत्रको उचाइ १६० देखि एक हजार ११५ मिटरसम्म रहेको छ ।

प्रसारण लाइनमार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्र, विभिन्न सामुदायिक र सरकारी वन क्षेत्र पर्दछन् । सोअन्तर्गत प्रसारण लाइनको ७०.५४ प्रतिशत वन क्षेत्र, १६.१३ प्रतिशत खेतीयोग्य जमिन, २.२६ प्रतिशत बाँझो जमिन, तथा ११.०६ प्रतिशत अन्य भागले ओगटेको छ ।

प्रसारण लाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा–जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कूल २२५ वर्गमिटर हुनेछ। झण्डै सात हजार रूख कटान गरिने छ । आयोजना प्रमुख चौधरीले निकुञ्ज क्षेत्र भएर लाइन विस्तार हुने भएकाले धेरै रूख काट्नुपर्ने अवस्था आएको बताए । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग रूख कटानको अनुमतिका लागि वन तथा वातावरण मन्त्रालयमा फाइल पेस भएको उनले बताए ।

आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सव-स्टेसन तथा क्षेत्राधिकारका लागि आवश्यक पर्नेछ। सोमध्ये ३.७२४९ हेक्टर स्थायीरूपमा सव–स्टेसन निर्माणका लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायीरूपमा प्रयोग गरिनेछ ।

आयोजनाको लम्बाइ करिब ५१.४६२ किलोमिटर डबल सर्किटको रहने प्रस्ताव गरिएको छ । त्यस्तै, आयोजनाबाट बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकबेंसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् ।

कार्यान्वयनमा कुनै प्राविधिक कठिनाइ नआएको खण्डमा तोकिएकै समयमै काम सम्पन्न हुने आयोजनाको अपेक्षा छ । पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा राष्ट्रिय प्रसारण लाइन पुग्न कम्तिमा दुई वर्ष लाग्ने जनाएको छ । जाजरकोट–डोल्पा, कालीकोट–जुम्ला र नाग्म–मुगु ३३ केभी प्रसारण लाइन विस्तार गर्ने तयारी सुरू गरिएको छ ।

कर्णालीमा विद्युत् विस्तारका लागि २०७४ भदौमा सुर्खेतमा प्राधिकरणको क्षेत्रीय कार्यालय स्थापना भएको थियो। झण्डै दुई वर्षसम्म कर्मचारीविहीन रहेको यो कार्यालय गत वर्षदेखि प्रादेशिक कार्यालयमा रूपान्तरण भएको हो । हाल कर्णालीका ७७ हजार घरधुरीमात्र विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । केही जिल्लामा लघु जलविद्युत् आयोजनाबाट बिजुलीको उपयोग भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको

काठमाडौँ, ६ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । गएराति

एजेन्सी, ५ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध  दिल्ली क्यापिटल्सले विजयी सुरुअवात गरेको छ

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा