आयल निगमका कार्यकारी निर्देशक पौडेल कार्यसम्पादनमा सर्वोत्कृष्ट

काठमाडौँ, १४ साउन । डेढ वर्षअघि खुला प्रतिस्पर्धाबाट नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका सुरेन्द्रकुमार पौडेलले कार्यसम्पादन मूल्यांकनमा ९२ अंक ल्याएका छन् । कुल एक सय अंकभारको मूल्यांकनमा यो सर्वोत्कृष्ट नतिजा हो ।

आयल निगममा पहिलोपटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनाेट भएका पौडेलले सुरुदेखि सुधारका योजना लागू गरिरहेका छन् । उनले पाइपलाइन विस्तार, भण्डारण गृह निर्माण, निगमकै स्वामित्वमा ग्यासको बोटलिङ प्लान्ट, नयाँ रिफ्युलटर जडानलगायत काम अगाडि बढाएका छन् । पौडेलले यसअघि उदयपुर सिमेन्ट उद्योेगलाई पनि नाफामा सञ्चालन गरेर कुशल प्रशासकको छवि बनाएका थिए  ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल संयोजकत्वको कार्यसम्पादन मूल्यांकन समितिले उनको एक वर्षको कार्य प्रगति अध्ययन गरी ९२ अंक दिएको स्रोतको भनाइ छ । पौडेलले गत पुसमा एकवर्षे कार्यकाल सम्पन्न गरेका थिए । त्यसको तीन महिनापछि कार्यसम्पादन मूल्यांकनको निर्णय भइसक्नुपर्ने भए पनि कोरोना नियन्त्रणका लागि लकडाउन भएकाले मन्त्रालयले समयमै निर्णय गर्न सकेको थिएन ।

स्रोतका अनुसार सरकारले नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेका पेट्रोलियमसम्बन्धी व्यवस्थालाई कार्यकारी निर्देशक पौडेलले कार्यान्वयन गरिरहेका कारण कार्यसम्पादनमा राम्रो नतिजा आएको हो । ‘मन्त्रालयसँग गरिएको कार्यसम्पादन सम्झौताको बुँदामा उल्लेख भएअनुसारका काम अगाडि बढिरहेका कारण निगमको कार्यकारी निर्देशक पौडेलको राम्रो अंक आएको हो,’ स्रोतले भन्यो । सामान्यतया कार्यसम्पादन मूल्यांकनमा ५० भन्दा कम अंक आए स्पष्टीकरण सोधेर कारबाही प्रक्रियामा लैजाने, ७५ अंकसम्मलाई सन्तोषजनक मान्ने र ९० भन्दा बढी अंकलाई उत्कृष्ट मान्ने गरिन्छ ।

कार्यकारी निर्देशक पौडेलले भने कार्यसम्पादन मूल्यांकनसम्बन्धी औपचारिक जानकारी नपाएको बताए । ‘मैले आफ्नोतर्फबाट निगम सुधार र दिगो विकासका क्षेत्रमा काम गरेको छु । त्यसका आधारमा मूल्यांकन भएको हुनुपर्छ,’ उनले भने, ‘मेरो मूल्यांकनको विषयमा कुनै जानकारी आएको छैन, तर राम्रै होला भन्ने अपेक्षा गरेको छु ।’

खुला प्रतिस्पर्धाबाट छनाेट भएका संस्थान प्रमुखहरूले प्रत्येक वर्ष कति काम गर्ने भनेर कार्यसम्पादन सम्झौता गर्ने भएकाले राम्रो काम गरेर देखाउने चुनौती हुने गरेको छ । संस्थानमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्त गर्न सरकारले यसअघि गठन गरेको संस्थान निर्देशन बोर्ड (हाल खारेज भइसकेको) का तत्कालीन प्रमुख तथा पूर्वसचिव विमल वाग्लेले संस्थान सुधारका लागि खुला प्रतिस्पर्धा अपनाउनुपर्ने बताउँछन् । ‘खुला प्रतिस्पर्धाबाट आएको मान्छेसँग सुधारको काम गरेर देखाउनुपर्ने चुनौती हुन्छ,’ वाग्ले भने ।

तत्कालीन समयमा संस्थान निर्देशन बोर्डले नियुक्त गरेकामध्ये कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य (हाल आइक्यानका अध्यक्ष) लगातार दुई वर्ष ९० भन्दा बढी अंक ल्याएर पुरस्कृत भएका थिए । त्यस्तै गोरखापत्र संस्थानको तत्कालीन महाप्रबन्धक सुशील कोइराला, नेपाल स्टक एक्सचेन्जका प्रमुखमा नियुक्त भएका सीताराम थपलियाले उत्कृष्ट अंक ल्याएका थिए । बोर्डलाई सरकारले छोटो समयमै खारेज गरेको थियो ।

वाग्लेले निगमलाई थप सुदृढ बनाउन चारवटा सुझाब पनि दिएका छन् । ‘आयल निगमले इन्धनको आयात मात्रै गर्ने हो । उपभोक्तासम्म वितरण गर्न निजी क्षेत्र परिचालित छन् । त्यसैले व्यवसायीहरूले इमान्दारीपूर्वक काम गरेका छन् भनेर उपभोक्तामा विश्वास जगाउन सक्नुपर्छ,’ उनले भने, ‘दोस्रो भनेको गुणस्तर र मूल्यमा उपभोक्ता कहिल्यै नठगिने गरी निगमले कारोबार गर्नुपर्छ । तेस्रो, इन्धनको जहाँ आवश्यकता छ, त्यहाँ सहज रूपले उपलब्ध गराउनुपर्छ । र, चौथो भनेको सरकारी कम्पनीले जे दायित्व पुरा गर्नुपर्ने हो त्यसमा कहिल्यै नचुक्ने गरी काम गर्नुपर्छ ।’

धेरै अंक ल्याउनले यी हुन् चार परियोजना

आयल निगमको सञ्चालक समितिको दह्रो साथ पाएका पौडेलले मुख्यतया चार परियोजनालाई अघि बढाएका छन् । नीति तथा कार्यक्रम र बजेटले समेत सधैँ प्राथमिकतामा राख्दै आएको आमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन, भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण र झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने परियोजनालाई निगमले अघि बढाएको छ ।

१) मोतीहारीदेखि अमलेखगञ्जसम्म आइपुगेको पाइपलाइनलाई लोथरसम्म विस्तार गर्न पाइप कहाँबाट कसरी बिछ्याउने भन्ने सर्भे सकिएको छ । अहिले जग्गाको लेआउट, माटोको परीक्षणलगायतका काम हुँदै छन् । यो परियोजना आउँदो मंसिरबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । गत २४ भदौदेखि सञ्चालनमा आएको मोतीहारी–अमलेखगञ्जमा पाइपलाइनबाट अहिले डिजेल मात्र आयात भइरहेको छ । तर, लोथरसम्म निर्माण सम्पन्न भएपछि एउटै पाइपबाट पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ ।

२) भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन परियोजनाको प्रारम्भिक लागत अनुमान निकालिएको छ र अन्य विषयको प्रारम्भिक अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यहाँ निगमले जग्गा पहिले नै किनिसकेकाले माटोको परीक्षण, जग्गाको लेआउटलगायतका विषयमा अध्ययन गर्ने सर्भे टोली खटिएको छ ।

३) चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृहको निर्माणका लागि चितवनमा सर्भे सकिएको छ । त्यहाँ २३ बिघा १२ कट्ठा जग्गा किनिएको छ भने झापाको सर्भे अन्तिम चरणमा छ । त्यहाँ २४ बिघा जग्गा किनिएको छ । चितवनमा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । यहाँ ग्यासबाहेक सबै पेट्रोलियम पदार्थ भण्डारण गृह बन्नेछ । देशको मध्यभागमा रहेकाले सबैभन्दा ठूलो भण्डारण गृह निर्माण गर्ने योजना छ । आगामी मंसिरबाट निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।

४) झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने विषयमा दुवै ठाउँमा तीन–तीन हजार हजार मेट्रिक टनको ग्यास भण्डारण गृह निर्माण गरिनेछ । बोलपत्रमार्फत अन्तर्राष्ट्रियस्तरका दुईवटा परामर्शदाता छनाेट भइसकेका छन् र उनीहरूसँग आर्थिक प्रस्ताव मागिएको छ । यहाँ भण्डारण भएको ग्यास सबै उद्योगीलाई वितरण गरिनेछ । दुवै ठाउँमा निगमले आफ्नै बोटलिङ प्लान्टसमेत राखेर पहिलोपटक आयल निगमको ब्रान्डमा ग्यास सिलिन्डर बजारमा ल्याउनेछ । नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वीरगन्ज, ५ असोज । वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तीन जनाको आइतबार बिहान र एक

आज ५ असोज २०७७, सोमवार वैधृति बभ विशाखा , विश्व शान्ति दिवस र विश्व अल्जाइमर्स दिवस मेष(चु, चे, चो, ला,

काठमाडौँ, ४ असोज । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय