सुनील थापा भित्र्याउँदा पनि काँग्रेसमा विवाद

काठमाडौँ, १४ साउन । राप्रपाबाट सुनिलबहादुर थापा नेतृत्वको समूह पार्टीमा आउन लागेकामा कांग्रेसभित्र कुनै विमति थिएन । तर विधानमै नभएको व्यवस्थाविपरीत सभापति शेरबहादुर देउवाले मनोमानी रूपमा पद बाँडेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र उनको समूह सुरुदेखि नै असन्तुष्ट थियो । मंगलबार बिहानसम्म पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने या नहुने भन्नेबारे पौडेल पक्ष निष्कर्षमा पुग्न सकेको थिएन ।

उपसभापति विमलेन्द्र निधिले सोमबारदेखि नै पौडेल र उनीपक्षीय नेताहरूसँग सहमतिका लागि संयोजन गरिरहेका थिए । निधि पार्टीद्वारा गठित अन्तरपार्टी समायोजन समितिका संयोजकसमेत हुन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम पार्टी समायोजनका लागि निधिको नेतृत्वमा समिति बनाइएको थियो र अहिले थापा नेतृत्वको समूह समायोजनको जिम्मा पनि यसै समितिले पाएको छ ।

पार्टी प्रवेश कार्यक्रम सुरु हुनुअघि देउवाले पनि बूढानीलकण्ठस्थित निवासमा आफ्नो समूहको बैठक राखेका थिए । त्यस बैठकमा थापाको पार्टी प्रवेश र पौडेल पक्षको असन्तुष्टिबारे छलफल भएको थियो । पौडेल पक्षीय कतिपय सदस्यले थापा नेतृत्वको राप्रपालाई कांग्रेसमा स्वागत गरेको वक्तव्य जारी गरेर कार्यक्रममा सहभागी नहुने बताएका थिए ।

सभापति देउवा सुरुमा थापालाई महामन्त्री र मागेजति केन्द्रीय सदस्य दिएरै भित्र्याउन तयार भएका थिए । तर वरिष्ठ नेता पौडेल समूह र संस्थापन पक्षकै महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरूले असन्तुष्टि जनाए । देउवा थापा समूहलाई ९ केन्द्रीय सदस्य दिन तयार थिए । तर पछि पाँच केन्द्रीय सदस्य र दुई आमन्त्रित सदस्य दिने समझदारी बनेपछि पौडेल पक्ष पार्टी प्रवेश कार्यक्रममा सहभागी भयो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।