वामदेवले ल्याएको त्यो पार्टी फुटबाट जोगाउने ‘सुपरग्लु’, जसले आम कार्यकर्ता खुसी

काठमाडौँ, १४ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्दै गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले पार्टी जोगाउने गरी ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उपाध्यक्ष गौतमले विगतमा पार्टी फुटको पीडा राम्रैसँग बेहोरेकाले त्यस्तो स्थिति आउन नदिन र पार्टीलाई मजबुत बनाउने उद्देश्यले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

गौतमले ल्याएको सो प्रस्तावलाई नेकपाका शुभेच्छुकहरूले पार्टी जोगाउने ‘सुपरग्लु’का रूपमा लिएका छन् । सो प्रस्तावले पार्टीलाई टुटफुटबाट जोगाउने भन्दै कार्यान्वयनमा ल्याउनुपर्ने माग आमकार्यकर्ताको छ ।

गौतमले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार सो प्रस्ताव बुझाएका छन् । शीर्ष नेताहरूका अडानका कारण पार्टी फुटको संघारमा पुगेका बेला गौतमको प्रस्तावलाई निकै सकारात्मक रूपमा लिइएको छ । गौतमको प्रस्तावमा देशभरका अधिकांश नेता तथा कार्यकर्ताहरूले समर्थन जनाएका छन् ।

गौतमले प्रस्तावको सुरुकै बुँदामा केपी ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने उल्लेख गरेका छन् भने दोस्रो बुँदामा अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने तथा पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्ताव गौतमले गरेका छन् ।

प्रधानमन्त्रीका दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरूमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गरेर मात्रै गर्नुपर्ने प्रस्ताव गौतमले गरेका छन् । यसैगरी, प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरूको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्नुपर्ने गौतमको प्रस्ताव छ ।

यस्तै, पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक एवं संवैधानिक नियुक्ति गर्नुपर्ने प्रस्ताव गौतमको छ । संसद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिनुपर्ने सुझाव उनको प्रस्तावमा छ । यस्तै, पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्नुपर्ने गौतमले प्रस्ताव गरेका छन् ।

मंगलबार नै बालुवाटारमा बसेको असन्तुष्ट पक्षको बैठकमा उपाध्यक्ष गौतमले अध्यक्ष दाहालले कार्यकारी रूपमा आफूलाई प्रस्तुत गर्न नसकेको आरोप लगाए । कार्यकारी अधिकार पाएका दाहालले पार्टी सञ्चालन प्रभावकारी गर्नुपर्नेमा त्यस्तो भूमिका निर्वाह नगरेको गौतमले बताए ।

यसअघि नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँगै प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका गौतम पछिल्लो समय सो मागबाट ‘ब्याक’ भएका छन् ।

मंगलबारको बैठकमा गौतमले भने, ‘मैले खुमलटारमा पनि केपीको राजीनामा नमागौं भनेको हुँ । अहिले म यो भेलामा यति मात्रै भन्न आएको हुँ, राजीनामा नमागौं । प्रचण्डले पनि कार्यकारी रूपमा आफूलाई प्रस्तुत गर्नुभएन ।’

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको असन्तुष्ट पक्षको बैठकले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधिविपरीत स्थायी कमिटीको बैठक स्थगित भएको सूचना प्रसारित गर्ने कार्य उचित नभएको निष्कर्ष निकालेको छ ।

सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्धारित समयमा तोकिएको बैठक नबस्ने र विधिविपरीत स्थगित भएको सूचना प्रसारित गर्नु उचित नभएको बताए । ‘यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष ओलीसँग छलफल गरी अगामी बैठक सुचारु गर्न अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।

‘आजको बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्धतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका निम्ति पार्टीका सबै नेता, कार्यकर्ता र सदस्यहरूलाई आआफ्ना ठाउँबाट भूमिका खेल्न आह्वान पनि गरेको छ,’ श्रेष्ठले भने ।

बैठकमा २९ जना स्थायी समिति सदस्यहरू र २ जना आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको उनले बताए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसहित उनी निकटका नेताहरू बैठकमा सहभागी भएनन् । बैठकको माइन्युट नभएकाले त्यसले औपचारिकता भने पाउन सकेन । सचिवालयका सदस्यहरू ईश्वर पोख्ररेल, रामबहादुर थापा बादल र विष्णु पौडेल भने बैठकमा उपस्थित भएनन् । वामदेव पनि केही समय सहभागी भएर निस्किएका थिए ।

मंगलबारको समीकरण हेर्दा सचिवालयमा प्रधानमन्त्री ओलीको बहुमत देखिएको छ । प्रचण्ड–नेपाल समूहमा चार जना र ओली समूहमा पाँच जना देखिएका छन् । प्रचण्ड–नेपाल समूहमा दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ देखिएका छन् ।

बैठकको सुरुमै अध्यक्ष दाहालले पूर्ण बैठकका लागि सझदारी गर्नुपर्ने बताए । बैठक स्थगित भएपछि दाहाल र खनालले प्रधानमन्त्री ओलीसँग बालुवाटारमै छलफल गरेका थिए ।

‘स्थायी समितिको बैठक त भन्न मिलेन । तर, बैठक बस्नका लागि केही समझदारी गर्नुपर्ने देखियो । ओलीले एकल अध्यक्ष जस्तो ठान्नुभयो । यसलाई आज बैठक माने दुर्घटना हुन्छ । त्यसैले अब पूर्ण बैठकका लागि गृहकार्य गरौं,’ दाहालले भने ।

स्थायी कमिटीका सदस्य भीम रावलले अध्यक्ष दाहाललाई संकेत गर्दै अध्यक्षद्वयको पदीय लडाइँमा आफू सहभागी नहुने बताए । ‘ओली र तपाईंबीच हुने पदको झगडामा म सामेल छैन । तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन, वामदेवको प्रस्ताव राम्रो छ,’ रावलले भने, ‘पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौं, ओलीसँग पदको विभाजन गर्ने मात्रै सोच्नुभो, जुन गलत छ, त्यसलाई समर्थन गर्न सकिँदैन ।’

बैठक चल्दै गर्दा बैठक कक्षबाट गौतम, रावल र घनश्याम भुसाल बाहिरिएका थिए । लगत्तै अर्का स्थायी कमिटीका सदस्य जनार्दन शर्माले पार्टी एकता जोगाउँदै अगाडि बढ्नुपर्ने सुझाव दिए । ‘छिटो महाधिवेशनमा जाऊँ, पार्टी फुटे त्यही फुट्छ, जुटे त्यही जुट्छ,’ उनले भने ।
यस्तै, सदस्यहरू बैठक कक्षबाट बाहिरिन थालेपछि स्थायी कमिटीका सदस्य वर्षमान पुनले बैठक स्थगित गर्न सुझाव दिएका थिए ।

बैठकको अन्त्यमा ‘बैठक कि भेला’ भन्ने विषयमा नेताहरूकै बीचमा चर्काचर्की भयो । भुसालले टिपोट गरेर विषय सुनाउँदै भेला भनेपछि स्थायी कमिटीका सदस्यहरू अष्टलक्ष्मी शाक्य, डा. बेदुराम भुसाल र रघुजी पन्तले प्रतिवाद गरेको एक सदस्यले बताए ।

घनश्यामले बोल्दै गर्दा बेदुराम र रघुजीले टिपोट खोस्न खोजेका थिए । उनीहरूले भेला होइन, बैठक भन्नुपर्ने दबाब दिए । सुरुमा घनश्यामले भेला भनेर सम्बोधन गरेपछि हात हालाहालकै अवस्था सिर्जना भएको बैठकमा सहभागी एक नेताले बताए ।

पछि अध्यक्ष दाहालले समन्वय गर्दै भेला नभई बैठक भएको बताए । तर, बैठकका निर्णय लेख्न माइन्यूट नै थिएन । भेलाको निर्णय लेख्ने महासचिव विष्णु पौडेल नै सो बैठकमा सहभागी थिएनन् ।

पूर्वनिर्धारित स्थायी कमिटीको बैठक मंगलबार बस्ने भनिएको थियो । १० असारदेखि सुरु भएको स्थायी कमिटीको बैठक १८ असारदेखि बस्न सकेको छैन । ६ साउनमा बसेको बैठक बाढीपहिरोपीडितको उद्धार, राहत तथा व्यवस्थापनमा जुट्न निर्देशन दिँदै स्थगित गरिएको थियो ।

तर, मंगलबार ११ बजे बैठक बस्ने भनिएकामा साढे १० बजे स्थगितको सूचना जारी भयो । प्रधानमन्त्री ओली र दाहालबीच बिहान ९ बजे छलफल गर्ने भनिएको थियो । तर, अध्यक्ष ओली र महासचिव पौडेलले सम्पर्क गर्दा दाहालसँग सम्पर्क भएन ।

९ बजे दाहाल बालुवाटर नपुगेको र सम्पर्क गर्दा समेत उपलब्ध हुन नसकेपछि ओलीले महासचिव पौडेलमार्फत बैठक स्थगित भएको सूचना जारी गर्न लगाए । महासचिवको निर्देशनमा पार्टी केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्तिमार्फत बैठक स्थगित भएको सूचना जारी गरेका हुन् ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि नेकपामा विवाद सुरु भएको हो । तर, ओलीले दुवै पदबाट राजीनामा नदिने अडानसहित प्रचण्डलगायतका समूहलाई प्रधानमन्त्री हुन अर्को निर्वाचन र अध्यक्ष हुन महाधिवेशनसम्म पर्खिनुपर्ने बताउँदै आएका छन् ।

शीर्ष नेतहरूको यही अडानका बीच बैठक पटक पटक स्थगित हँुदै आएको छ । अब स्थायी कमिटी बैठक कहिले बस्ने भन्ने कुरा अनिश्चित बनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्