एजेन्सी, १० साउन । विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख २८ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख २८ हजार ९०३ पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यद्यपि पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिकामा मात्रै दैनिक १० देखि १२ हजारभन्दा धेरै कोरोना संक्रमित थपिरहेका छन् ।
त्यस्तै कोरोना संक्रमितको संख्या विश्वमा एक करोड ५३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ५२ लाख ९६ हजार ९२६ पुगेको छ ।
त्यस्तै नेपालमा भने संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४४ जना पुगेको छ ।