विराटनगर, ९ साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा कोरोना संक्रमण समुदायस्तरमा पुगिसकेको बताएका छन् ।
प्रदेशसभामा बजेट अधिवेशनको अन्तिम बैठकलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, “समुदायमा तीव्र गतिमा फैलने सम्भावना बढेर गएको छ । समुदायस्तरमा संक्रमण फैलिएको संकेतहरू मिलिसकेका छन् ।” राईले स्थानीय तहसँग मिलेर अब ग्रिन र रेड जोन बनाई नियन्त्रणको प्रयास थालिने समेत बताए ।
प्रदेश १ मा हालसम्म ८४८ जनामा कोरोना संक्रमण देखापरेको छ । जसमध्ये ७२३ जना उपचारपछि डिस्चार्ज भएका छन् । दुईजनाको मृत्यु भएको छ । “कोरोना नियन्त्रणमा आएर लकडाउन हटेको होइन बरु जोखिम अझ उच्च भएर गएको छ,” राईले भने, “अब हामीले हाम्रो व्यवहारमा ध्यान दिनुपर्छ । कोरोना तीव्र गतिमा फैलने भएकाले लकडाउन खुले पनि सचेत हुन जरुरी छ ।”