काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा कोरोना संक्रमण भएको छ भने केहीको मृत्यु भएको छ । डा. गौतमका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण भएका बालबालिकाहरु सबै आमाबुबासँगै भारतबाट फर्किएका हुन् ।
बालबालिकामा कोरोना संक्रमण देखिए अरुमा सर्ने सम्भावना बढी हुने भन्दै मन्त्रालयले बालबालिकालाई सकेसम्म घरमै राख्न आग्रह गरेको छ ।
बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मास्क लगाउने, अरुसँग २ मिटरको दूरी कायम गर्ने, बेला बेलामा हात धुने गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।