नागरिकता संशोधन विधेयक फिर्ता लिन माग

काठमाडौँ, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकका केही व्यवस्था संविधानको मर्मविपरीत रहेको तर्क गर्दै फिर्ता लिन माग गरेको छ ।

मङ्गलबार अबेर रातिसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोहीअनुसार संसद्मा प्रस्तुत हुन पार्टीको सङ्घीय संसदीय दललाई निर्देशसमेत गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले पाउने वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा प्रस्तावित संशोधन नेपालमा नागरिकता सम्बन्धमा संवैधानिक र कानूनी व्यवस्था भएको दिनदेखि कायम रहेको व्यवस्थाविपरीत र राजनीतिक, सामाजिक, सांस्कृतिक मान्यताविपरीत रहेको निष्कर्ष निकालेको छ ।

यस्तो संशोधनका कारण नागरिकता प्राप्तिका विषयमा थप संवैधानिक, सामाजिक एवं पारिवारिक जटिलतासमेत सिर्जना हुनसक्ने प्रबल सम्भावना रहने काँग्रेसको तर्क छ । यस सम्बन्धमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पार्टीको तर्फबाट काँग्रेसका सांसदहरुले फरक मत राखिसक्नुभएको छ ।

बैठकले दाङको शान्तिनगर गाउँपालिका–२ का काँग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष फर्साराम डाँगीलाई मङ्गलबार उहाँकै कार्यकक्षमा हतियारधारी समूह प्रवेश गरी मरणासन्न हुने गरी कुटपिट गरेको घटनाको भत्र्सना गरेको छ । उक्त घटनामा संलग्न व्यक्तिहरुको तुरुन्त खोजी गरी हदैसम्मको कानूनी कारवाही गर्न र गम्भीर घाइते हुनुभएका डाँगीको उचित उपचारको प्रबन्ध गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य मीना पाण्डे र संविधानसभाका पूर्वसदस्य ज्ञानकुमारी छन्त्याल गम्भीर अस्वस्थ हुनु भई उपचारार्थ रहनुभएकामा उहाँहरु दुवैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकमा पार्टीको १४औँ महाधिवेशन कार्यतालिका बारेमा छलफल जारी छ । केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्दैछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्