तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्ने

काठमाडौँ, १७ असार । राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेसँगै अत्याधुनिक बुद्ध पार्क बन्न मार्गप्रशस्त भएको हो ।

सरकारले २०३२ साल जेठ १४ गते जग्गा प्राप्ति ऐनअनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बने पनि मुुआब्जा विवादले काम अघि बढेको थिएन । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विवाद समाधान गरेर पार्क बनाइने बताउनुुभयो । उहाँले भन्नुभयो, “तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद अन्त्य गरेर पार्क बनाउने योजना अगाडि बढाइनेछ ।” “मुआब्जा विवाद सुल्झाउन प्रारम्भिक अधिकारी नै तोकेर काम सुुरु गरिएको छ”, उहाँले भन्नुभयो, “जतिसक्दो छिटो विवाद अन्त्य गरी पार्क निर्माणको काम अगाडि बढाइनेछ ।”

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यो विषय समावेश गरेर सङ्घ तथा प्रदेश सरकारलाई जानकारी गराएको र अन्य सरोकारवालाको सहयोग तथा समन्वय रहनेछ भन्नुुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला तीनकुनेमा हरियालीसहित आइल्यान्ड निर्माण गरिएको थियो ।

केही जग्गाधनीले चलनचल्तीको मूूल्यअनुसार मुआब्जा पाउनुपर्ने लगायतका माग गरेपछि विवाद अहिलेसम्म टुङ्गोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा लिइसकेका छन् । “करिब ५० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार भइसकेको छ”, महानगरका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले थप्नुभयो, “हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक रहने गरी डिजाइन बनाइएको छ ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस