काठमाडौँ, १० असार । एनआईसी एशिया लघुवित्तले आज (असार १०) देखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।
लघुवित्तले निष्कासन गर्न लागेको आईपीओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता सेयर कर्मचारीको लागि छुट्याएको छ । यस्तै ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरेको छ । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
१०० रुपैयाँ अंकित मूल्यमा निष्कासन हुन लागेको लघुवित्तको आईपीओमा असार १० (आज) देखि १४ गतेसम्म आवेदन दिन सकिने लघुवित्तले जनाएको छ । १४ गतेसम्म सबै सेयर बिक्री नभए असार २४ गतेसम्म आवेदन दिने समय रहने लघुवित्तले जनाएको छ । सर्वसाधारण लगानीकर्ताले लघुवित्तको सेयरमा कम्तीमा १० कित्ता र बढीमा २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।






