काठमाडौँ, ३ असार । नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गर्नुभएको छ ।
भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को निरीक्षण गर्ने उहाँहरुको तयारी छ । मौसममा समस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान नसक्ने बताइएको छ ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।