लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु

काठमाडौँ, ३ असार । भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ ।

सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जानकारी दिएको हो ।

चिनियाँतर्फको क्षति भने यकिन हुन सकेको छैन । भारतीय सञ्चारमाध्यमले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै चिनियाँ पक्षबाट ठूलो संख्यामा हताहत भएको उल्लेख गरेका छन् । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।
करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ ।

चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा सोमबार साँझदेखि रातिसम्म हिंसात्मक झडप भएको भारतले जनाएको छ । झडपमा कर्णेलसहित तीन जनाको तत्कालै र गम्भीर घाइते १७ सैनिकको पछि मृत्यु भएको भारतीय सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शून्यभन्दा कम तापक्रम र हाई अल्टिच्युडका कारण घाइतेहरूको मृत्यु भएको सेनाले जनाएको छ । ‘माथिल्लो तहमा भएको सहमतिलाई चिनियाँ पक्षले इमानदारीपूर्वक पालना गरिदिएको भए दुवै पक्षमा हताहत हुने गरी भएको झडप रोक्न सकिन्थ्यो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको दाबी गरेको छ । चिनियाँ सेना पीएलएका पश्चिम क्षेत्र कमान्डका प्रवक्ता झाङ सुइलीले भारतीय सेना गलवन उपत्यकामा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ (एलएसी) नाघेर सुनियोजित रूपमा उत्तेजक आक्रमणमा ओर्लेकाले भीषण झडप भएको जनाएका छन् । कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ ।

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि केही महिनायता गलवन उपत्यका, तातो पानी र प्यानगङ ताल क्षेत्रमा तनाव थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ असोज । सूर्यविनायक नगरपालिकाको आफ्नो सुविधा सम्पन्न तथा आधुनिक आफ्नै भवनको निर्माणको क्रममा रहेको छ । कटुञ्जमा महेन्द्र

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न

काठमाडौँ, ७ असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ