काठमाडौँ उपत्यकामा होम डेलिभरी गर्ने तयारी

काठमाडौँ, १ असार । बन्दाबन्दीमा  चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।

बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका  लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

“शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उनले भने ।

चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने  जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।

चार सय  डेलिभरी
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४१८ अनलाइन अर्डर आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिए । उनका अनुसार अनलाइन डेलिभरीवाट रु १३ लाख ४३ हजार ७६५ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २०५ क्विन्टल चामल, दश क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, दुई क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ ।

हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ । काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गरिँदै आएको छ ।

प्रतिव्यक्ति रु दुई हजारदेखि पाँच हजारसम्मको खरीदमा १० प्रतिशत छुट दिइँदै आएको छ । अनलाइनमार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवामार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । कम्पनीले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पिठो र आयो नून तथा डिडिसीसँग समन्वय गरी शुद्ध घिउ बिक्री गर्दै आएको छ ।

यसअघि बिक्री गरिँदै आएको विद्युतीय चुलोलाई समेत बिक्रीमा राख्ने तयारी भएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरीद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका