नागरिक लकडाउनमा, जनप्रतिनिधि नदी दोहनमा

काठमाडौँ, २४ जेठ । लकडाउनले दुनियाँभरका नदी कञ्चन भएका छन्, तर काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकको सीमा छुट्याउने इन्द्रावती नदीमा भने भेल बगिरहेको छ । लकडाउनको मौकामा स्थानीय जनप्रतिनिधिले डोजर चलाएर नदी दोहन गरिरहेका छन् ।

लकडाउनको वेला सडकमा पैदल हिँड्ने सर्वसाधारणलाई प्रहरीले लाठीले कुटपिट गरेका दृश्य देखिए । तर, लकडाउनको अवहेलना गर्दै गाडी चलाउँदा, मान्छे जम्मा गरेर संक्रमणको जोखिम बढाउँदा र नदी दोहन गर्दा प्रशासन मौन बस्यो । स्थानीयले आवाज उठाउँदा क्रसर उद्योगीहरूले गुण्डा लगाएर जनतामाथि आक्रमण गरेको दोलालघाटका बासिन्दा बताउँछन् ।

गत माघमा सञ्चारमाध्यममा समाचार आएपछि प्रशासनले काभ्रेका सबै क्रसर तथा बालुवाखानीको अनुगमन गरेको थियो । अनुगमनमा ३१ वटै उद्योगले वातावरणीय मापदण्ड नमानेको भेटिएपछि बन्द गर्न सिफारिस भएको थियो । तर, अहिलेसम्म उत्खनन रोकिएको छैन । बर्खा महिनामा उत्खनन गर्दा बाढीको जोखिम बढाउने भएकाले यो समयमा खानी बन्द गर्नुपर्ने हुन्छ । तर, आफ्नै निर्देशन कार्यान्वयन नभएकोमा प्रशासनलाई समेत वास्ता छैन ।

काभ्रेको भुम्लु गाउँपालिका– ९ मा रहेको त्रिवेणी क्रसर उद्योगका सञ्चालकले परिचालन गरेको समूह र स्थानीयबीच १ जेठमा झडप हुँदा दुईजना घाइते नै भए । तर, अनौठो विषय के छ भने जनतामाथि आक्रमण गराउने यो क्रसरमा काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका सदस्य प्रेम लामा र सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको लगानी रहेको स्थानीय बासिन्दा बताउँछन् । लामा वडा नं. ९ बाटै निर्वाचित वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिमा पुगेका हुन् ।

वडाध्यक्ष दलबहादुर तामाङ भन्छन्, ‘बस्तीको बीचमा २२ रोपनी जग्गामा यो क्रसर चलेको छ । यसको नेतृत्व जिल्ला समन्वय समिति सदस्य प्रेम लामाले गरेका छन् । प्रेमको सहायकको रूपमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल छन् । सुरुवातमा यिनीहरूले बालुवा धुने उद्योग भनेर अनुमति मागेका थिए । तर, अहिले त यिनीहरूले क्रसर नै चलाएका छन् ।’

‘लकडाउनमा पनि २४सै घन्टा क्रसर उद्योग चलाएर नदी बर्बाद बनाए, प्रदूषण बढाए, वातावरण ध्वस्त बनाए भनेर आवाज उठाउँदा प्रशासनले सुनेन । हामी जनताले विरोध गर्दा बाहिरका मान्छे जम्मा गरेर हामीलाई तह लगाउन खोजे, खुकुरी बोेकेर हामीमाथि आक्रमण गरे,’ दोलालघाट सुधार समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले भने ।

झडपमा घाइते भएका रामशरण पराजुली भन्छन्, ‘उनीहरूले पहिलेदेखि नै हामी गाउँलेलाई थर्काउने, धम्क्याउने गर्दै आएका थिए । २ जेठमा हामीले अहिले क्रसर नचलाऊ भनेपछि क्रसरमा सेयर भएको केदार पराजुली खुकुरी बोकेर हामी गाउँलेलाई काट्छौँ भन्दै आए । त्यसपछि हामी प्रतिकारमा उत्रिँदा मेरो टाउकोमा उसले खुकुरीले हानेको हो । हाम्रै गाउँमा पसेर हामीलाई खुकुरी हान्न थाले, जनप्रतिनिधिले नै गुण्डा परिचालन गरेपछि हाम्रो सुरक्षा कसले गर्ने ?’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२