काठमाडौँ, ११ जेठ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना समस्त कर्मचारीहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कोभिड—१९ बीमा गराएको छ । बैंकमा कार्यरत स्थायी, प्रशिक्षार्थी, करार, सवारी चालक, कार्यालय सहयोगी र सुरक्षा गार्ड लगायतका आउटसोर्स कर्मचारी गरि करिव १५०० जनाको कोभिड—१९ बीमा नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा गरिएको कुरा बैंकले जनाएको छ ।
बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकेबमोजिमको रकम क्षतिपूर्ति बापत उपलब्ध गराउने कुरा बीमा लेखमा उल्लेख गरिएको छ ।
सामाजिक दुरीको अवाधराणालाई चैत्र महिनाबाटै प्रयोगमा ल्याएको यस बैंकले आफ्ना कर्मचारीहरुलाई मास्क, सेनिटाइजर तथा पन्जा लगायतका सुरक्षा सामाग्रीहरु उपलब्ध गराई वित्तीय सेवाहरु सावधानी पूर्वक प्रदान गरिरहेको छ । विभिन्न सावधानीका विधिहरु अवलम्बन गर्दै गर्दा पनि कुनै भवीतव्य भई आएको खण्डलाई मनन गर्दै बीमा गरिएको कुरा बैंकले जनाएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टी.एम कुनै पनि बैंकको ए.टी.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।






