लिपुलेकमा भारत र चीनको आँखा किन ?

काठमाडौँ, २९ वैशाख । सानो देश नेपालको भूमि लिपुलेकमा किन शक्तिशाली र उदीयमान राष्ट्र भारत र चीनले आँखा लगाइरहेका छन् । यही भूमि भएर चीन जाने सडक बनाउन पुग्यो । भारतको त्यो कार्यमा चीन पनि किन साथ दिइरहेको छ ? चीनले भारतसँग मिलेर नेपाललाई थाहै नदिई लिपुलेकलाई दुईपक्षीय व्यापार नाका बनाउने सन् २०१५ मे १५ मा सम्झौता गर्‍यो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई भारत–चीनबीचको व्यापारिक नाका बनाउने निर्णय गरेका थिए । यो सम्झौता पहिलो भने होइन । भारत र चीनले ६६ वर्षअघि सन् १९५४ अप्रिल २९ (२०११ साल वैशाख १७ गते) लिपुलेकसहित ६ वटा सीमानाका व्यापारिक प्रयोजनका लागि खोल्ने सम्झौता गरेका थिए ।

नेपालका विगतदेखिकै कूटनीतिक कमजोरीको फाइदा त हो नै त्यसका अलावा लिपुलेक चीन र भारत दुवैका लागि सामरिक, व्यापारिक र धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण स्थान भएकाले उनीहरूको नजर परेको कूटनीतिज्ञ तथा सीमासम्बन्धी जानकारहरू बताउँछन् । दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउद भारत र चीनको आवात–जावत र व्यापार आदान–प्रदानका लागि सबैभन्दा छोटो र सहज मार्ग भएकाले लिपुलेकमा उनीहरूको आँखा परेको बताउँछन् ।

उनका अनुसार सुरक्षा, धार्मिक, सांस्कृतिक, व्यापारिक दृष्टिले नै लिपुलेक भूभाग भारत र चीनको लागि सजिलो मार्ग हो । व्यापारिक दृष्टिले चीनलाई भारतको दिल्लीजस्ता प्रमुख सहरसम्मको पहुँचको आवश्यकता परेको छ भने भारतलाई पनि ल्हासासम्म पुग्ने किफायती सडक मार्गको जरुरत परेको छ । छोटो मार्गबाट ट्रान्जिट सुविधा पाउँदा दुवै देशको ढुवानी खर्च घट्ने अर्थात् खर्च र समय बचत हुने र व्यापारिक नाफा हुन जाने वास्तविकता हो ।

चीनलाई आफ्नो तयारी सरसामान भारतको सवा अर्बभन्दा बढी जनसंख्या भएको भारतीय बजारमा सकेसम्म धेरै परिमाणमा बेच्नु छ । भारतलाई पनि आफ्नो फलामजन्य गह्रौं तौल भएका कच्चा पदार्थ चीनको ल्हासा भएर सांघाई, बेइजिङ तथा अन्य औद्योगिक क्षेत्रसम्म सस्तो ढुवानीमा पुर्‍याउनुपरेको छ । त्यसैले ती दुवै देशलाई सहज र फाइदाजनक सडक मार्ग चाहिएको छ ।

उनले यो भूभाग सामरिक, सुरक्षा हिसाबले भारतको धेरै महत्व राख्ने बताए । ‘यो मार्ग कैलाश मानसरोवार जाने सबैभन्दा छोटो रुट हो, बर्सेनि हजारांै भारतीय कैलाश जान्छन्, त्यसका साथै भारत र चीनलाई व्यापार आदान–प्रदानका लागि यो सहज मार्ग हो,’ उनले भने, ‘सुरक्षाका लागि लिपुलेक महत्वपूर्ण छ, भारत र चीन युद्धको समयदेखि भारतले यहाँ सेना राख्नुको कारण पनि त्यही हो ।’

यो मार्ग निर्माणसँगै नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का लाग्नेछ । दिल्ली–काठमाडौं–नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग गरेर बर्सेनि हजारौं भारतीय तीर्थयात्री मानसरोवर जाने गर्छन् । लिपुलेक मानसरोवर मार्ग सबैभन्दा छोटो मार्ग भएका कारण अब भारतीय पर्यटक उतैबाट जाने हुँदा नेपाललाई आर्थिक रूपमा ठूलो घाटा हुने भएको छ ।

दार्चुलाको व्यास गाउँपालिकाको माथिल्लो भागमा अवस्थित लिपुलेक समुद्रको सतहबाट ५ हजार २९ मिटर उचाइमा छ । भारतबाट मानसरोवर जाने सबैभन्दा छोटो बाटोका रूपमा लिपुलेक मानसरोवर मार्ग रहेको छ । लिपुलेक भञ्ज्याङबाट चीनको ताक्लाकोट १६ किमि पूर्वी दूरीमा रहेको छ, जहाँ चीनतर्फबाट सडक जोडिएको छ। लिपुलेकबाट चीनको सीमासम्म राम्रो गोरेटो छ । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, १६ चैत । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार