काठमाडौँ, २३ वैशाख । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ ।
कोरानाभाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि व्याब्सनले यस्तो प्रस्ताव गरेको हो ।
प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ ।’
यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आवश्यक पहल गर्न पनि सरकारसँग ब्याब्सनले अनुरोध गरेको छ ।






