मन्त्री पोखरेललाई कतारबाट खुल्ला पत्र

काठमाडौँ, १६ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई बुटलव स्थायी वसोवास रहनुभएका हाल दोहा कतारमा कार्यरत गौतम रिजालद्वारा विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को समयमा ‘कोरोना त्रास र अनलाईन शिक्षा बारे खुल्ला पत्र लेख्नुभएको छ ।

श्री गिरिराजमणि पोख्रेल ज्यू,
मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सिहदरबार, काठमाडौँ, नेपाल ।

कोरोनाको त्राश र अनलाइन शिक्षा बारे खुल्ला पत्र ।

माननीय मन्त्रीज्यु,

विश्व कोभिड –१९ को महामारीले ग्रसित भई विश्व नै ठप्प छ । नेपाल पनि बिगत १ महिनादेखि लकडाउनमा छ । अहिलेको समय भनेको स्वास्थ्य सम्बन्धि सुरक्षा अपनाउने र घरमै बसि सुरक्षीत रहने हो । विश्वको अर्थतन्त्र नै तहसनहस हुने कुरा अर्थबिज्ञहरुले भनिसकेका छन् भने नेपालको स्थिती झन् नाजुक हुने पक्कापक्की नै छ । किनभने नेपालको अर्थतन्त्रको मुल आय भनेको नै रेमिटेन्स हो र जुन अहिलेको अवस्थामा रोकिएको छ र अब पूर्णरुपमा रोकिने पनि देखिन्छ । मध्यपूर्व लगायत खाडीमा काम गर्ने धेरै नेपालीको रोजगार गुम्दैछ । लकडाउन र अन्तर्राष्ट्रिय हवाई खुल्ला हुनेबित्तिकै लगभग ५ लाख बेरोजगार युवा नेपालमा थपिने छ्न् । त्यसै त नेपालमा बेरोजगारी ठूलो समस्याका रुपमा रहेको छ । यीनलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले कुनै योजना अथवा उपाय खोज्नुपर्ने बेलामा आफै कुर्सिको खेलमा लागिरहेको छ । यिनै लाजसरम नभएका राजनितीज्ञहरुका कारण आज देश कोरोना विरुद्ध लड्नुपर्ने बेलामा यिनिहरु लुट्नको लागि तछाड्मछाड गरि रहेका छन् । सबै नेपालिजन दु:खमा छन् । आधा पेट खायर भए नि सरकारको आदेशको पालना गर्दै घरभित्र नै बसिरहेका छन् ।

तर यसै समयमा हाम्रा बाबु नानि पढ्ने अधिकांश नीजि विद्यालयले फेरी अनलाइन शिक्षाको नाममा एक किसिमको आतंक फैलाउन सुरु गरेका छन् । गत चैत्र ५ गते भित्र परिक्षा सकेर विद्यालयहरु बन्द भए पनि चैत्र महिना भरिको मासिक शुल्क बुझाईसकिएको छ । सरकारले त चैत्र महिनाको शुल्क नलिनु भनेको थियो तर त्यो महिना परिक्षा पत्र जाच्ने र नतिजा पनि प्रकाशन गर्नुपर्ने हुन्छ, त्यसैले कुनै अभिभावकले फिर्ता माग्दैनन् । परिक्षाको नतिजा प्रकाशित भएको छैन तर विद्यालयबाट कोभिड-१९ को यो त्रासपूर्ण अवस्थामापनि भर्ना गर्नुपर्ने, पुस्तकहरु लिनुपर्ने अनि अन्लाइन माध्यमबाट विद्यार्थीहरुलाई पढाउने किसिमका सूचना र जानकारी अभिभावकहरुलाई पठाउन थालिएको छ ।

यो समयमा त सम्पूर्ण अभिभावकहरु तपाईहरु नआत्तिनुहोला । तपाइको बच्चाको पढाई हामीले ख्याल गर्ने छौं । बरु अतिरिक्त समय लिएर भए पनि हामीले सबै कोर्स समयमै सक्ने छौं । तपाईका बाबुनानिहरुको भविष्यको चिन्ता जति तपाईहरुलाई छ, त्यति नै हामीलाई नि छ । त्यसैले अहिले सबै सुरक्षित रही आफ्ना बाबु नानीलाई आफ्ना, रिति रिवाज, संस्कार, सामाजिक ज्ञान, लगायत अन्य घरायसी कुराहरु सिकाउनु होला भन्नु पर्ने ठाउमा झन् अभिभावकमाथि एक किसिमको तनाब थपिदिने कार्य भएको छ । कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई त अनलाईनबाट पढाईरहेका छन् र यो राम्रो पनि हो । तर हाम्रा स-साना नानि बाबुहरुलाई अनलाइनबाट पढाउने भन्ने कुराप्रति मेरो अलिकति गुनासो छ । सबैको अभिभावकको इच्छा आफु अनपढ र गरिब भए पनि आफ्ना सन्तानलाई राम्रो र महँगो अंग्रेजी बोल्ने विद्यालयमा पढाउने इच्छा हुन्छ । अब यस्तो अवस्थामा बच्चाको मासिक शुल्क तिर्न त गाह्रो भएको एउटा सामन्य आम्दानी भएको व्यक्तिले यी सामान कसरि जुटाउला ? एउटा कोठा भाडामा लिएर बसेको एउटा अनपढ व्यक्तिले इन्टरनेट, ल्यापटप र अन्य प्रविधीको जोहो कसरि गर्ला ? अहिले धेरै विद्यार्थी आफ्ना अभिभावकका साथ् आफ्ना गाउँ गएको अवस्था पनि छ । अनि त्यहाँ इन्टरनेट लगायत अन्य प्रविधिको सुबिधा होला कि नहोला त्यो बुझ्ने कसले ? सबैको मनमा अहिले यो कोरोना महामारीबाट बच्न पाए पछी जे होला देखा जायगा भनिरहेको अवस्थामा यसरि अहिले विद्यालयले यो किसिमको सूचना निकाल्नु कतिको जायज होला ? सबैलाई आफ्ना सन्तानको भविष्यको चिन्ता हुन्छ तर अभिभावकको भावनामाथि खेल्नु त भएन नि रु सबै कुराको एउटा समय हुन्छ, अनलाइन प्रबिधिबाट पढाउनु राम्रो हो तर त्यसको लागि अभिभावक र विद्यार्थी पहिलेदेखि नै तयार हुनुपर्छ नि होइन र ? फेरी कोहि भन्लान विदेशमा त अनलाइनबाट पढ़ाइन्छ त ?

हो विदेशमा यस्तो हुन्छ तर विदेश, विदेश हो नेपाल नेपाल हो । नेपालमा अहिलेको अवस्थामा अनलाइन प्रबिधिबाट पढाउछु भनेर विद्यालयले भन्नु एउटा गरिब, जेहेन्दार र मेहेनती विद्यार्थीको भविष्यनै समाप्त पार्न खोज्नु हो । हिजोका दिनमा नीजि विद्यालय पनि सरकारले लिनु पर्यो, शिक्षा ब्यापार भयो भनेको सुन्दा किन अरुको काममा बाधा गर्न खोजेका होलान । त्यत्रो लगानी छ निजि विद्यालयमा भनेर सोच्थे तर आज बल्ल थाहा भयो किन त्यसो भनेका रहेछन भनेर । वार्षिक रुपमा भर्ना शुल्क लिने, १० वटा बहाना बनाएर अरु थप शुल्क लिने लगायतका क्रियाकलापले गर्दा पो त्यसो भनिएको रहेछ । लगातार एउटा विद्यालयमा पढिरहेको विद्यार्थीलाई पनि प्रत्येक नयाँ शैक्षिक सत्रमा भर्ना शुल्क लिईने गरिदो रहेछ । नीजि विद्यालयले मात्र राम्रो शिक्षा प्रदान गर्छ भन्ने भ्रमको फाइदा उठाउदैं, कापी कलम, पुस्तक, पोशाक लगायतको ब्यापार पनि गर्ने रहेछ । के यो सहि हो त ? यी यस्ता कार्यहरु नेपालको शिक्षा कानुनमा जायज वा छुट छन् कि गलत ? यो कसले छानबिन गर्ने ? अभिभावक बोलुन भने तिम्रा बच्चा अन्तै लगेर पढाउ भन्लान भनेर सबै चुप छन् अनि सरकारी निकाय नि ? किन नबोलेका ? कि कमिशन खाएको हुनुपर्यो कि होइन नेपालको कानुनमा छुट छ भन्नुपर्यो ।

नोट : मलाई नेपालको शिक्षा कानुनको कुनै पनि ज्ञान छैन । तर विद्यालयको लाइसेन्स लिएर कापी, कलम, किताब, कपडा, पोशाकको ब्यापार गर्न त नपाइने होइन र ?

यसरी शिक्षाको ब्यापार हुदाँ नि सबै चुप नै थिए तर अहिले अचानक यो अनलाईनको तरंगले पुरै अभिभावक त्रसित भएका छन् । त्यसैले यो विषयमा सम्बन्धित सरकारी निकाय, प्याब्सन, एन प्याब्सन, शिक्षक सङ्गठन, विद्यार्थी संगठन, अभिभावक संगठन र स्वयं नीजि विद्यालयका संचालकहरुले पनि सोच, विचार र परामर्श गर्नुपर्ने देखिन्छ । यो कुनै नीजि विद्यालयप्रतिको पूर्वाग्रह नभई म जस्तै मध्यम बर्गका अभिभावकको विचार हो ।

विश्वभर फैलिरहेको यो कोभिड–१९ महामारी छिटो समाप्त भई, सबै मानवजगत स्वस्थ भई आ-आफ्ना दैनिक कार्यमा जान सकुन । श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल आमा ।

गौतम रिजाल
रुपन्देही , बुटवल-९
हाल: दोहा, कतार ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित

काठमाडौँ, ९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने सूचना दिएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले

काठमाडौँ, ९ भदौ । राष्ट्रिय सभाको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई

सुनसरी, ९ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कोशी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर बराहक्षेत्रलाई