श्री मातातीर्थ दर्शन यात्रा

यो प्रसिद्ध तीर्थस्थल काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रागिरी पर्वतको बक्षस्थलमा अवस्थित मातातीर्थ गाउँमा रहेको छ । यस देवस्थल परिसरमा रहेका दर्शनीय तीर्थ एवं मठ, मन्दिरहरूमा मातातीर्थ कुण्ड, मातामूर्ति मन्दिर, चम्केश्वर महादेव, दशधारा तीर्थ, उग्रचण्डी, रूद्रायणी, महालक्ष्मी, भैरवी, शीतलामाई, प्राचीन बौद्ध चैत्य आदि हुन् ।

यस तीर्थस्थलमा हरेक वर्ष बैशाककृष्ण औंसी अर्थात मातातीर्थ औंसीका दिन भव्य मेला लाग्ने गर्दछ । उक्त दिन यस तीर्थमा स्नान, तर्पण, मातृश्राद्द गर्ने एवं मातातीर्थ कुण्डमा आमाको मुख हेर्न आउने भक्तजनहरूको भिँड लाग्ने गर्दछ । यस तीर्थस्थलको उत्पत्ति एवं महिमाको बारेमा रोचक किम्वदन्ति रहेको छ ।

अघिको कुरा हो, मातातिर्थ गाउँका गोठालाहरू सधैजसो यस तीर्थस्थल नजिकको चौरमा गाईबस्तु चराउन ल्याउथे । मध्याह्नको समयमा सबै गोठालाहरू यहॉ रहेको कुण्डको वरिपरी बसेर आ-आफ्नो खाजा खान्थे । एकदिनको कुरा हो एकजना गोठालाले खाँदैगरेको खाजा अचानक यस कुण्डमा खस्न गयो । हेर्दा-हेर्दै उसको खाजा कुण्डको पानीमा विलीन भयो । उक्त गोठालाले जव-जव कुण्डको डिलमा बसेर खाजा खान्थ्यो तव-तव उसको खाजा सधैजसो कुण्डको पानीमा खसेर विलीन हुन्थ्यो ।

त्यसपछि उक्त गोठालाले आखिर किन सधैजसो मेरो खाजा कुण्डमा झर्छ र हेर्दा-हेर्दै पानीमा विलीन हुन्छ भन्ने कुरा पत्ता लगाउन भोलीपल्ट पनि कुण्डको डिलमा बसेर खाजा खाँदै पानीमा नियालेर हेर्न लाग्यो । यस्तैमा उसको खाजा अचानक कुण्डमा खस्यो र हेर्दा-हेर्दै उनकी दिवंगत आमा प्रकटभई खाजाको टुक्रा लिएर तत्काल अलप भइन् । यस्तो विचित्र घटना देखेर उक्त गोठालोले आश्चर्यचकित हुँदै यो कुरा आफ्ना साथीहरूलाई सुनायो ।

पहिला त साथीहरूले उसको कुरा विश्वास गरेनन् । त्यैपनि एकपटक हामी पनि हेरौंन त भनेर पोखरीको डिलमा बसेर आफुले खाँदैगरेको खाजाको टुक्रा पालैपालो कुण्डमा खसाले । त्यहाँ जो-जो गोठालाकी आमाको मृत्यु भएको थियो । त्यहि(त्यहि गोठालाकी दिवंगत आमा प्रकट भई आ-आफ्ना सन्तानले खसालेको खाजाको टुक्रा लिएर अलप भइन् । उता आमा जीवित हुने गोठालाहरूले कुण्डमा खसालेको खाजाको टुक्रा चाहिँ पानीमानै तैरिई रह्यो ।

त्यसपछि ती गोठालाहरूले यो कुरा आ-आफ्नो घरपरिवारमा लगेर सुनाए । एक कान, दुई कान हुँदै यो कुरा टाढा-टाढासम्म फैलियो । यस्तो आश्चर्यजनक कुरा सुनेर छिमेकी गाउँ एवं टाढा-टाढाका भक्तजनहरूको यस कुण्डमा घुइचो लाग्न थाल्यो । गोठालाहरूले भने अनुसार नै उनिहरूले पनि यस कुण्डको पानीमा आफ्नी दिवंगत आमालाई छॉया स्वरूपमा देख्न थाले र आमा जीवित रहेकाहरूले केहि पनि देखेनन् । यसरी नै लामो समय ब्यतिथ भयो ।

यस्तैमा एकदिन यस कुण्ड नजिकको गाउँकी एक महिलाको अचानक मृत्यु हुनगयो । उनको सानो छोरा थियो । आफ्नी आमाको दुखद निधन भएपछि त्यो बालक कतै आमाको अनुहार देख्न पाउछु की भन्ने आशमा यस कुण्डको डिलमा बसी भावविह्वल हुँदै दिवंगत आमालाई बोलाउन थाल्यो । यस्तैमा उनकी आमा कुण्डको पानीमा प्रकटभई आफ्नो छोरालाई अनेक तरहले सम्झाई-बुझाई घर फर्कन भनिन् । तर उक्त बालकले कसैगरी मन-चित्त बुझाएन । बरू उ आमा … ! भन्दै, आफ्नी आमालाई अँगालो हाल्न कुण्डमा हाम्फाल्यो । उक्त कुण्ड निकै गहिरो भएका कारण त्यस बालकको पानीमा डुवेर तत्काल दुखद निधन भयो ।

यस्तो दुखद घटना घटेपछि दिवंगत भएका सबै आमाहरूले यस उप्रान्त आफ्ना सन्तानलाई छॉया स्वरूपमा मात्र दर्शन दिने बाचा गर्दै कुण्डबाट अलप भए । सोहि लोक मान्यताको आधारमा बिहान सबेरै उठि नुहाई-धुवाई चोखोनितो भई मातातीर्थ औंसीका दिन यस तिर्थमा आएर स्नान, तर्पण (आमाको नाममा पानी चढाउने) एवं यहॉ रहेका देवदेवताहरूको श्रद्दा भक्तिपूर्वक पूजा, आरधना एवं दर्शनगरी मातृकुण्डमा गएर हेर्दा आफ्नी दिवंगत आमाको अनुहार देख्न सकिन्छ भन्ने लोक मान्यता रहेको छ ।

समादरणिय मान्यजन, नेपाल महात्म्यमा बर्णन गरिए अनुसार काठमाडौँ उपत्यकाकाको उत्तर दिशामा अवस्थित चन्द्रभागा र बागमती नदीको संगममा अवस्थित “महातीर्थ” अर्थात श्री गोकर्णेश्वर तीर्थलाई उत्तर गया (पितृश्राद्ध गर्ने पवित्रस्थल) मानिन्छ भने दक्षिण-पश्चिम दिशामा अवस्थित मातातीर्थलाई मातृश्राद्द गर्ने पवित्रस्थल मानिन्छ ।

विविध कारणले आफ्ना दिवंगत माता-पिताको वार्षिक तीथिमा श्राद्ध एवं तर्पण गर्न नसक्ने सन्तानहरूले यी दुई तीर्थहरूमा आई पितृहरूको नाममा श्राद्ध, तर्पण एवं पिण्डदान गर्दा तिथि टुटाएको दोष नलाग्ने, अक्षयफल प्राप्त हुने एवं अर्यामदि पितृहरूले मोक्ष प्राप्त गर्दछन् भन्ने लोक मान्यता रहेको छ ।

मैले यहॉ उक्त तीर्थमा रहेका प्रमुख दर्शनीय स्थलहरूका छायाचित्रहरू समेत समावेश गरेको छु । यहॉहरूले मातातीर्थ औंशीको पावन दिनमा यस पूण्यस्थलको दर्शन गरी महिमा समेत बुझ्नुहुनेनै छ । सबै(सवैलाई मातातीर्थ औंसीको हार्दिक मंगलमय शुभकामना छ है ।

नवीन खडका (संस्थापक अध्यक्ष)
अरूण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्र नेपाल, बत्तिसपुतली, काठमाडौँ

हाल : बाल्टिमोर, मेरिलैण्ड, अमेरिका
दिनांक: ११ वैशाख २०७७

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ