दीलिप न्यौपाने
दोस्रो विश्वयुद्धमा विजय प्राप्त गरे लगत्तै विजेता सहयात्रीहरु अमेरिका र रुस पुग नपुग आधा शताब्दी लामो वाकयुद्ध (शितयुद्ध) शुरु भयो । यो शितयुद्धले विश्वलाई पुँजीवादी र समाजवादी ध्रुवमा प्रष्ट रुपमा विभाजित गरिदियो । यो लामो युद्धमा यी दुई देशबीच प्रत्यक्ष रुपमा आमने सामने लडाईं त भएन एक अर्का प्रति विरोध, निन्दा र आलोचनाको भने उल्कावर्षा नै भयो । त्यसैले नेहरुले यो युद्धलाई ‘मस्तिष्कको लडाई’ भनेका छन् भने जोन फोस्टरले यसलाई ‘नैतिक हिसाबको धर्मयुद्ध’ को संज्ञा दिएका छन् ।
यसको परिणाम स्वरुप विश्वयुद्धपछि विज्ञान, प्रविधि र सञ्चारका क्षेत्रमा संसारले त्यस अगाडि कहिल्यै नगरेको फड्को मा¥यो । अर्थात युद्ध शस्त्र अस्त्रात्मक होइन विचारधारात्मक रुपमा बिस्तार भयो । आफ्नो विचारलाई सहि प्रमाणित गर्न हदै सम्मको प्रचार गर्न दुवै ध्रुवले हद पार गर्न थाले । हिटलरमाथि विजय दर्ज गरेका यिनै महाशक्तिहरुले एक अर्काको ध्रुवविरुद्ध हिटलर शैली कै प्रोपागान्डा युद्धको खुलेआम प्रयोग गरे । यो युद्धमा गोलीले नभई बोलीले प्रधानता पाउन थाल्यो । फलतः तत्कालिन सञ्चार माध्यमहरु विशेषतः रेडियो, टेलिभिजन र चलचित्रको महत्व बढेर गयो । अर्थात प्रोपागान्डाको जगमा सञ्चारको क्षेत्रमा क्रान्ति नै आयो ।
सन् १९९० मा सोभियत ध्रुवको विघटन भयो । बर्लिनको पर्खाल ढल्यो अनि अमेरिका एकल ध्रुविय महाशक्तिका रुपमा स्थापित भयो । अमेरिकाको उदयसँगै विश्व पुँजीवादको एक छत्र राज विश्वभर शुरु भयो । निजीकरण, उदारीकरण र विश्वव्यापीकरण तिब्र रुपमा अगाडी बढ्यो । विश्व बैंक, अन्तर्राष्ट्रिय मौद्रिक कोष, विश्व व्यापार संगठन जस्ता अन्तर्राष्ट्रिय निकायहरुको विकास भयो ।
अधिकांश अल्पविकसित राष्ट्रहरुमा शितयुद्धकालमा नै उपनिवेशहरुको अन्त्य भइसकेको थियो । औद्योगिक राष्ट्रहरुमाथि प्राकृतिक श्रोत साधन, कच्चामाल र सहज श्रमिकहरुको आपूर्ति निकै कष्टककर भइरहेको यही परिवेशमा अमेरिकाको पूँजीवादी एकल ध्रुवको उदय भएको थियो । यही परिवेशमा नयाँ विचारधाराको रुपमा विश्वव्यापिकरण जन्म भयो । विकसित राष्ट्रहरुलाई कच्चा पदार्थ, श्रमिक र बजार मिल्यो विकाससिल राष्ट्रहरुलाई माल र रोजगारी ।
त्यसो त यसरी हेर्दा तुलोको एकातिर सुन र अर्काे तिर फलाम जस्तो देखिन्छ । तर यसका मशिहाहरु अर्थात विकसित अर्थतन्त्र र अल्पविकसित शासक वर्ग र दलाल पुँजीपति वर्गलाई यहीमा नै फाइदा थियो । अब भूमण्डलीकरण नै संसारको नयाँ रामवाण हो भनेर यसका लागि वातावरण तयार पार्नुपर्ने भयो । यसलाई कोर्समा राखेर वर्षाैं वर्ष पढाउनु वा महिनौंसम्मको तालिम गर्नु भन्दा सहजै दुनियाँको विचारमाथि कब्जा गर्न सकिने अस्त्रका रुपमा पुनः मिडिया प्रयोग हुन थाल्यो ।
विचार कब्जा गर्नु भनेको आफ्नो पक्षमा मनोविज्ञान निर्माण गर्नु हो । यसरी आफ्नो पक्षमा मनोविज्ञान निर्माणपछि आफ्ना योजना तथा कार्यक्रमहरु बिना कुनै हतियार कार्यान्वयन गर्न सकिने भयो । न रक्तपात, न हिंसा, न आक्रमण, न हस्तक्षेपको आरोप । यो एक्काइसौं शताब्दीको मनोविज्ञान निर्माण गर्ने अचुक हतियार नै मिडिया बनिरहेको छ । अर्थात आजको दुनियाँ सेनाले होइन बिबिसी र सिएनएनले नियन्त्रण गरिरहेको छ ।

यति बेला विश्व कोरोना संक्रमणको महामारीबाट प्रताडित भएको छ । २०१९ को अन्त्यमा चीनको वुहानबाट शुरु भएको संक्रमण आज युरोप, अमेरिका हुँदै दुनियाँभर फैलिरहेको छ । चीनले यसलाई समयमै नियन्त्रणमा लिन सकेको छ भने युरोप र अमेरिका नराम्ररी प्रभावित भइरहेका छन् । भारत हुँदै हाम्रो देश नेपालमा पनि यो लेख तयार पारुन्जेल सम्ममा ३१ जना संक्रमित देखिएका छन् । अमेरिकामा मात्र ४३ हजार भन्दा बढी र विश्वमा १ लाख ७० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
चीनले कोरोनाविरुद्धको लडाइमा गरेको तयारी, सक्रियता र संवेदनशिलता दुनिँयामा प्रशंसनिय नै रह्यो । समयमा नै लकडाउन गरियो, रातारात अस्पताल बनाइयो अनि कम्युनिष्ट पार्टीका स्वयंसेवकहरु तत्काल परिचालित भए । स्वास्थ्यकर्मी र सेनाको त्याग र लगन त सम्मान गरेर मात्र नपुग्ने खालको थियो । अर्थात चिनियाँ सरकारले नाफालाई भन्दा जनताको ज्यु ज्यानलाई प्राथमिकता दियो । अर्का तर्फ जनताले पनि आफुँलाई अनुशासित र सचेत नागरिकका रुपमा स्थापित गरी चीनको कम्युनिष्ट सत्ताको सफलताको राज संसारलाई प्रमाणित गरेर देखाउन सफल भए ।
चीनमा संकटको अवस्था कायम रहुञ्जेल संसारका मिडियाहरुको हेडलाइनमा अमेरिकी र युरोपियन व्यापार घाटाको कुण्ठाहरु हेडलाइन बनेर आउन थाल्यो । यसैलाई मौकाका रुपमा देख्न थालेको अमेरिकाले चीनप्रति आक्रामक बन्दै चीनविरुद्ध अन्तराष्ट्रिय मोर्चाबन्दीको कोशिस गर्न थाल्यो । अमेरिका र चीनबीचको व्यापार युद्धको अध्याय नसकिँदै चीनमा आएको यो संकटलाई उसले तयारीका लागि खर्चेन बरु प्रोपागान्डाका लागि उपयुक्त समय ठान्यो ।
कोरोना भाइरसलाई चिनियाँ भाइरसका रुपमा स्थापित गराउन भरमग्दुर प्रयास गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनका विरुद्ध नयाँ मिडिया वारमा निस्के । उसकै अवशेष पछ्याउँदै विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरु चीनमाथि यो भाइरस उत्पादन गरेको, कोरोनाको सूचना दिने डाक्टरको हत्या गरेको, सुचना लुकाएको र मानव अधिकार कुण्ठित गरेको आरोप लगाइरहेकाछन् । लाग्छ यो महामारीमा पुनः शितयुद्धकालिन भुत जागेको छ ।

हुन त अमेरिकाको नेतृत्वलाई यस्तो काम गर्नका लागि कुनै आइतबार कुर्नु पर्दैन । मानिसहरुको मस्तिष्कमा आफ्नो एजेण्डा लादेर आफ्नो आगामी कदमलाई प्रमाणीत गराउन उसले कहिल्यै पनि हिचकिचाएन । इराक युद्धको माहोल बनाउन उसले सद्दाम हुसेनले रासायनिक हतियारहरु राखेको डंका पिट्यो । तर इराक खरानी हुँदा र जननिर्वाचित राष्ट्रप्रमुख हुसेनलाई फाँसीमा लट्काउँदा समेत उसले ति हतियार देखाउन सकेन । तेलको खानीमा आफ्नो रिमोर्टबाट चल्ने सत्ता स्थापना गरेपछि मिडियालाई पुराना आरोपहरुको पुष्टी गर्नुपर्ने कुनै जरुरी ठानेन ।
अहिले पनि राष्ट्रपति ट्रम्प कहिले कोरोनालाई चिनियाँ भाइरस प्रमाणित गर्न व्यस्त देखिन्छन्, कहिले मास्क लगाउन पर्दैन भन्छन् त कहिले लकडाउनको विपक्षमा उभिन्छन् । सायद उनी यो महाविपत्ति पछि विश्व शक्ति सन्तुलनमा चीनले अमेरिकालाई उछिन्ने त्रासमा उल्टो कदम चालिरहेका छन् । यसलाई जवर्जस्त जैविक युद्ध वा व्यापार युद्ध प्रमाणित गर्न चाहन्छन् । त्यसैले त आज चीन साम्राज्यवादी मिडियाको निशानामा परिरहेको छ ।
प्रेस वा पत्रकारिता आँफैमा महाशक्ति हो । यसले युवा, वृद्ध र बच्चामा एकैपटक प्रभाव पारिरहेको हुन्छ । प्रेस जति निस्पक्ष हुन्छ लोकतन्त्र त्यति बलियो हुन्छ अनि बलियो लोकतन्त्रमा मात्र प्रेस सुरक्षित हुन्छ । मुलतः प्रेसको निस्पक्षता आजको चुनौती पनि हो ।
निजीकरण र विश्वव्यापीकरणले लगानीका सम्पुर्ण ढोकाहरु खोलेको छ । आज दुनियाँ सुचना प्रविधिले आक्रान्त छ कृत्रिम बुद्धि र कौशलले मानिस तिरिमिरी भएको छ । मिडियामा पनि ठुला व्यापारिक घरानाको ठुलो ठुलो लगानी भित्रिएको छ । भनिन्छ, भारतमा अम्बानी समुहकै मात्र सत्ताइस टिभी च्यानल संचालनमा छन् । नेपालकै पनि ठुला मिडियामा भारतीयदेखि नेपालका ठुला ठुला व्यापारिक समुहको लगानी छ ।
समाज वर्गीय रहुन्जेल राजनीति पनि वर्गिय नै हुन्छ । वर्गिय राजनीतिमा हरेक वर्गले आफ्नु वर्गिय पक्षधरता देखाउँछ नै । भारतीय लेखक अरुन्धती रोयको “दिल्ली हिंसाको कोरोना भाइरस बाट हामी सिकिस्त छौं” भन्ने लेखबाट स्पस्ट हुन्छ की भारतीय मजदुर, उत्पीडित, पिछडा र मुसलमान समुहमाथि पुँजीवादी सत्ता कति क्रुर बन्दैछ । भारतमा भएको दमन र आक्रमणबाट बाँच्न केही भारतीय मुसलमान नेपाल आएको हुन सक्ने अनुमानलाई १५ जना भारतीय मुसलमान जो कोरोना संक्रमित भेटिएका छन् त्यसले पुष्टि गरेको छ । उनले मोदी सत्तालाई फासिवादीको संज्ञा दिएकी छन् र पनि यद्यपि भारतीय मिडियामा मोदीको जयजयकार गरिएकै छ । लाग्छ, भारतमा रामराज्य नै छ । यसको मुख्य कारण के हो ? त्यसको मुख्य कारण त्यहाँको सत्ता पुँजीवादी छ र मिडिया पनि पुँजीपतिको कब्जामा छ ।
नेपालमा पहिलो पटक कम्युनिष्टहरुको झण्डै दुई तिहाइको सरकार बनेको छ दुईवटा ठूला पार्टीहरु एकीकृत भएका छन् । आकस्मिक रुपमा चुनावी तालमेल गरेर पार्टी एकतासम्म पुगेको कम्युनिष्ट एकताले दलाल नोकरशाही पुँजीपती वर्गको निदहराम भएको छ । खाइपाई आएका मुलहरु सुक्न थालेपछि यो वर्ग तिलमिलाएको छ । चौधरी ग्रुपको रन्थनाहट यसैको उपज हो ।
नेपाली मिडियामा समेत दलाल पुँजीपति वर्गको हालीमुहाली छ । त्यसैले नेपालको कम्युनिष्ट पार्टीको सरकार र त्यसका नेतामाथि निरन्तर आक्रमण भइरहेको छ । जनता टाइम्समा नेकपाका नेता कर्णबहादुर थापाले ‘कम्युनिष्ट आन्दोलन विरुद्धको मिडिया वार र नेकपा’ भन्ने शिर्षकमा कसरी विगतदेखि कम्युनिष्ट आन्दोलन विरुद्ध मिडिया प्रयोग गरिँदै आएको छ भन्ने तथ्य सहित लेख्नु भएको छ । कसरी कम्युनिष्ट आन्दोलनका विरुद्ध टि. एन. प्रधान जन्मन्छन् र कसरी जन्माइन्छ भन्ने कुराको दृष्टान्त खोज्न कतै जानु पर्दैन ।
नेपाल जस्तो समाजमा पाठक वा श्रोता तीन किसिमका हुन्छन् । पहिलो किसिमका श्रोता मिडियामा लेखिएको र भनिएको कुरा ब्रम्हा वाक्य ठान्छन् वा आँखा चिम्लेर त्यसलाई विश्वास गर्दछन् । लहडी र भावुक यो समूहभित्र अधिकांश पाठक पर्दछन भन्ने पुँजीवादी वर्गलाई राम्रोसँग थाहा छ । त्यसैले प्रेसमा गोयबल्स सिद्धान्त लागु गर्दै आँखा लाग्ने विशेष हेडलाइन पत्रिकाको विशेषता बन्न पुग्छ । अनि पाठकको कमजोरीको फाइदा उठाउँदै झुठलाई सत्य र सत्यलाई झुठ बनाइन्छ ।
दोस्रो किसिमका पाठक लेखिएको कुरा मनन गर्न लायकको छ या छैन विचार गर्ने खालका हुन्छन् । विचार त गर्छन् तर आफ्नो विचार राख्न सक्दैनन् किनकी उनीहरु पनि पहिलो समूहबाट प्रभावित हुन्छन् । आलोचना वा विरोध सामना गर्ने तागत यिनीहरुसँग हुँदैन ।
तेस्रो किसिमका पाठकहरु चाँहि लेखिएको विषयवस्तुको गुण र दोषको आधार खोजेर समर्थन वा विरोध गर्दछन् । यो समुहका पाठकहरु प्रकाशित र प्रशारित सबै समाचारमा ध्यान दिन आवश्यक ठान्दैन् । उनीहरु सबै विषय र प्रसंगहरुको प्रतिवाद गर्न पनि आवश्यक ठान्दैनन् । त्यसैले हामी सत्यको खोजी नगरी जे आउँछ त्यसको पछि कुद्न बाध्य छाँै ।
डोर बहादुर बिस्टले ‘नेपाल आर्जित गुण भन्दा आरोपित गुणमा बलियो विश्वास राख्ने समाज हो’ भनेका छन् । सौरभले पनि यसलाई पुष्टी हुने मत राख्दै भन्छन्, “नेपाली आम मनोविज्ञान नकारात्मक धारकै हो । त्यो जसरी नकारात्मक कुरा देख्दा, पढ्दा रमाउँछ, दङ्ग पर्छ, त्यसरी नै कुनै दवाव दिन, सकारात्मक काम गर्न, अनुशासित हुन सकिरहेको पनि देखिँदैन ।”
यी भनाइहरुबाट के प्रष्ट हुन्छ भने नेपाली समाजमा नकारात्मक कुराहरु राम्रो बिक्री हुने बजार हो । एउटा पुँजीपतिले बजार माग अनुसार माल उत्पादन मात्र गर्दैन बजार निर्माण पनि गरेको हुन्छ । लाग्छ नेपाली प्रेस आजको मुल प्रवृति बिकाउ माल उत्पादन र पुन उत्पादन गर्नु नै हो । । यहि प्रवृतिको फाइदा आज एउटा समूह उठाउन लागी परेको छ । तर समाजको विकास क्रमसँगै सारा संसारमा फ्लप हुन थालेको ७ दशक पुरानो फर्मुला सधैं भरी लागु भइराख्ला भन्ने भ्रमको पर्दा पनि छिटै च्यातिने पक्का छ ।
(न्यौपाने नेपाल कम्युनिष्ट पार्टी कास्कीका युवा नेता हुन्)






