एजेन्सी, ९ चैत । कोरोनको भाइरस (कोभिड १९)को कारण रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको मृत्यु भएको छ । ७६ वर्षय सान्जलाई कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । रियल म्याड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए ।
सान्जकै कार्यकालमा रियलले आफ्नो गुमेको साख उकास्दै आफुलाई फेरि विश्वको ठूलो क्लबका रुपमा स्थापित गरेको थियो । उनकै कार्यकालमा युरोपेली कपको ३२ वर्षे खडेरी अन्त्य गर्दै रियलले १९९८ मा युभेन्टसलाई फाइनलमा हराएर च्याम्पियन्स लिग जितेको थियो । दुई वर्षपछि फेरि अर्को उपाधि आफ्नो नाममा लेखायो ।
कोभिड–१९ को महामारीले विश्वभर संकट निम्त्याएका बेला स्पेन सर्वाधिक प्रभावित देशमध्येको एक हो । हालसम्म स्पेनमा २५ हजार ४ सय ९६ जना संक्रमित भएका छन् र कुल १ हजार ३७८ जनाको मृत्यु भइसकेको छ ।







