काठमाडौँ, २१ फागुन । शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ ।
नेप्से बुधबार ६८ दशमलव शून्य ४७ अङ्कले घटेर १४ सय ४१ दशमलव २० बिन्दुमा झरेको छ । बुधबार निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
जीवन बीमा समूहको शेयर पाँच दशमलव १६ प्रतिशतले घटेको छ । यस्तै होटल, बैंक, विकास बैंक समूहको शेयर ४ प्रतिशतले घटेको छ । बुधबार कारोबार रकम पनि घटेको छ । बुधबार एक सय ७४ कम्पनीका दुई अर्ब ९० करोड रुपैयाँ बराबरका ६७ लाख ७१ हजार कित्ता शेयर किनबेच भएका छन् ।
आज नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २६ लाख रुपैयाँका शेयर किनबेच भएको छ भने एनएमबी बैंक, हिमालय डिस्टिलरी र एनआईसी एसिया बैंकको शेयर १३ करोड रुपैयाँको दरले कारोबार भएको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । अरु १२ वटा कम्पनीको शेयर पनि झण्डै १० प्रतिशतले ओरालो लागेको छ ।






