काठमाडौं, १७ माघ । श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसरमा सुविधानगर तीनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा देवयज्ञ अर्थात अग्नीहोत्री होम लगाइयो ।
विद्यार्थीहरुलाई सनातन हिन्दू धर्मसंस्ृकति र सरस्वती माताको पुजामा देवयज्ञको महत्वबारे जानकारी दिन र वरिपरीको वातावरण स्वच्छ बनाउन सो होम गरिएको हो । विद्यालय वरिपरीको राक्षसी प्रवृत्तिको नाश गर्न र अक्सिजनको मात्रा बढाउन सो देवयज्ञ गरिएको विद्यालयका निर्देशक राजन सुवेदीले बताए ।

सरस्वती पुजाको अवसरमा ट्रिटन स्कुलमा आयोजना गरिएको देवयज्ञबाट यज्ञ गरेको स्थानको करीव एक किलोमिटर वरिपरी अक्सिजनको मात्रा वृद्धि हुने विश्वास गरिएको छ । शुद्ध घिउ र जौ तिलको मात्रा मिलाएर यज्ञ गरेमा (होम गरेमा) अक्सिजनको मात्रा बढ्ने धार्मिक विश्वास रहेको छ ।
पतञ्जली योग समितिका केन्द्रीय सदस्य एवम् नेपाल सरकारका पूर्व सहसचिव राजन खड्काद्वारा पाठ गरिएको उक्त देवयज्ञमा विद्यालयकी भाइस प्रिन्सिपल ममता शाह र निर्देशक राजन सुवेदीले व्रत बसेर यज्ञ गरेका थिए । सरस्वती पुजामा सहभागी भएका साना केटाकेटी, विद्यार्थी र अभिभावकहरु सबैलाई सरस्वती माता तथा देवयज्ञको टिका र प्रसाद वितरण गरिएको थियो ।






