काठमाडौँ, ५ माघ । ६ महिनामा १ सय ७० प्रतिशतले वैदेशिक लगानी बढेको छ । पछिल्लो समय नेपालमा वैदेशिक लगानी प्रतिबद्धता बढ्दै गएको छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ को ६ महिनामा २७ अर्ब ६८ करोड रूपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । विभिन्न देशका लगानीकर्ताले उद्योग विभागमार्फत् १ सय ५० वटा उद्योगका लागि सो बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन् ।
गत आव २०७५/०७६ को सोही अवधिको तुलनामा यो १ सय ७० प्रतिशतले बढी हो । गत आवको साउनदेखि पुससम्ममा १० अर्ब २४ करोड रूपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।
विभिन्न देशका लगानीकर्ताले १ सय ९४ वटा उद्योग सञ्चालनका लागि सो बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । नेपालमा वैदेशिक लगानीको वातावरण बन्दै गएकाले विदेशी लगानी बढ्न थालेको विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए ।
अष्ट्रेलिया, बङ्लादेश, चीन (हङकङ), मलेसिया र पोल्याण्डका लगानीकर्ताबाट एउटा उद्योगका लागि लगानी प्रस्ताव आएको छ ।






