काठमाडौँ, १ माघ । आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनशिप शुक्रबारदेखि शुरु हुने भएको छ ।
नेपाल भलिबल सङ्घले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकको गरेको हो । यही माघ १० गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेपI को कभर्ड हलमा सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँ बजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने भएको छ ।
यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमण्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले खेल्नेछन् । विजेताले दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा २३ लाख खर्च हुने सङ्घले जनाएको छ ।