काठमाडौँ, २५ पौष । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिगमा खेल मैदानमै झगडा गर्ने ६ जना खेलाडीलाई कारबाही गरेको छ ।
सहिद स्मारक ए डिभिजन लिग खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको मैदानमै झगडा हुदा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेलमा प्रतिबन्ध लगाइएको छ भने उनीहरुलाई दश हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।
मनाङकै फरवार्ड रञ्जन विष्टलाई पनि दुई खेलको लागि प्रतिबन्ध लगाइएको छ । मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई पनि दुई-दुई खेलमा प्रतिबन्ध लगाइएको एन्फाले जनाएको छ । त्यसैगरी, मनाङका किट्स व्यवस्थापक शिव लामामाथि लिगको बाँकी खेलका लागि प्रतिबन्धसँगै दश हजार रुपियाँ जरिवाना तोकिएको छ ।
टिम बेञ्चमा अनुशासन कायम राख्न नसकेको भन्दै अनुशासन समितिले मनाङ र मच्छिन्द्र दुबै टोलीमाथि पचास-पचास हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय समेत गरेको छ ।







