काठमाडौँ, ८ पौष । अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म ‘छपाक’लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ ।
लेखक राकेश भारतीले ‘छपाक’ लाई लिएर बम्बे हाई कोर्टमा मुद्धा दर्ता गरेका छन् । उनले यो फिल्मको कहानी आफूले लेखेको दाबी गरेका छन् । सबैभन्दा अगाडि यो फिल्मको स्क्रिप्टको बारेमा आफूले सोचेको र जसको नाम ‘काला दिन’ राखिएको उनी बताउँछन् ।
लेखक भारतीले भनेका छन्, ‘वर्ष २०१५ मा इन्डियन मोशन पिक्चर प्रोड्यूसर एसोसिएशनमा फिल्मको रजिस्टर गरिएको थियो । त्यसबेलादेखि म फिल्मको स्क्रिप्टमा काम गरिरहेको थिएँ । मैले फक्स स्टार स्टूडियोलाई पनि अप्रोच गरेको थिएँ, तर विभिन्न कारणले हुन सकेन । त्यसपछि मैले फिल्मको आइडिया र कहानी प्रोडक्सन हाउसलाई सुनाएँ, जसमाथि ‘छपाक’ बनेको छ ।’
राकेशले फिल्म ‘छपाक’ मा राइटरको रुपमा क्रेडिट दिन कोर्टमा आग्रह गरेका छन् । साथै, फिल्मको प्रदर्शनमा रोक लगाउन पनि उनले माग गरेका छन् । मेघना गुलजार निर्देशित फिल्म ‘छपाक’ एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको हो






