काठमाडौँ, ६ पौष । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली भूमि अतिक्रमण गरेर जारी गरेको भारतीय राजनीतिक नक्सा अस्वीकार गर्दै भारतसँग कुटनीतिक वार्ता गर्न निर्देशन दिएको छ ।
सात दिनसम्म बसेको पार्टी स्थायी समिति बैठकले उक्त निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘महाकालीको मुल लिम्पियाधुरा रहेको र त्यो सहित कालापानी र लिपुलेकसहित नेपालको भू–भाग रहेको, त्यो भू–भागलाई भारत आफैंले परराष्ट्रमन्त्रालयमार्फत समाधान खोज्ने भनेर एकपक्षीय रुपमा भारतले जारी गरेको नक्सालाई अस्वीकार गर्ने गर्ने निर्णय गरेको छ ।’
त्यस्तै कालापानी क्षेत्रको नेपालको भू–भाग फिर्ता गर्ने तथा भारतीय सुरक्षा शिविर हटाउन कदम चाल्ने पहललाई नेकपाले स्वागत गर्दै राष्ट्रियताका सवालमा देखिएको अभुतपूर्व एकतालाई स्वागत गर्दै यो समस्या समाधान गर्न अझै एकताबद्ध हुनुपर्ने नेकपाको निर्णय छ ।
भारतले गत २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग कालापानी क्षेत्रलाई समेटेको थियो । जसको नेपालमा तीव्र विरोध हुँदै आएको छ ।






