कांग्रेस विवाद : मिसन एकातिर, नेताहरू अर्कैतिर

काठमाडौँ, ६ पौष । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । संसद्को प्रमुख प्रतिपक्षी कांग्रेस भने सरकारलाई खबरदारी गर्ने योजना र रणनीतिभन्दा आफैंभित्रको झगडामा फस्दै गएको छ । प्रतिपक्षको भूमिका सदन र सडकमा कमजोर भएको चौतर्फी आवाज उठ्दासमेत कांग्रेसले आफूलाई सच्याएको छैन ।

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले यतिबेला पार्टी र प्रतिपक्षको भूमिकालाई दरिलोसाथ उठाउनेतिर भन्दा आगामी महाधिवेशनमा आफ्नो पकड कायम राख्ने अंकगणिततिर ध्यान केन्द्रित गर्न थालेका छन् । पार्टी संस्थापनइतर समूहको ध्यान पनि महाधिवेशनतिरै खिचिएको छ । पछिल्लो पटक मंसिर २६ मा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एजेन्डामा प्रवेश नै नभई स्थगित भइरहेको छ । बैठकमा छलफलका लागि कुनै राष्ट्रिय मुद्दा र पार्टीको नीति–निर्माणका एजेन्डा तय गरिएको छैन । पार्टी महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाहरूको गठन/पुनर्गठनकै मुद्दामा नेताहरू वादविवाद गरिरहेका छन् ।

सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिन लाग्दा पनि महाधिवेशनको कार्यतालिका नल्याएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठक बहिष्कारको तहमा उत्रिएको छ । कार्यसमितिको पहिलो बैठकमा देउवाले विभाग, नेविसंघ र तरुण दल गठनलगायत एजेन्डा प्रस्तुत गरेका थिए । राष्ट्रिय मुद्दामा भारतको अतिक्रमणमा परेको कालापानी र लिम्पियाधुराबारे छलफल गर्ने कार्यसूची छ ।

बैठक सञ्चालन गर्नका लागि देउवाले महाधिवेशनको कार्यतालिका ल्याउन सहमति जनाएका छन् । उनी ०७७ फागुन पहिलो साता महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार देखिएका छन् । तर, भ्रातृसंस्थाहरूको गठन र भागबन्डामा देउवा र पौडेलबीच जुँगाको लडाइँ जारी छ । विभाग, तरुण दल र नेविसंघमा कसले कति भागबन्डा लिने ? नेविसंघमा कति महामन्त्री राख्ने ? कसले कति हिस्सा लिने? कसको हैसियत के हुने ? जस्ता विषयमा विवाद भइरहेको छ ।

सभापति देउवाले महाधिवेशन चाँडो गराउने कुरालाई प्राथमिकतामा राखेका छैनन् । बरु एक वर्षपछि हुने महाधिवेशनलाई कसरी आफ्नो अनुकूल बनाउने भन्नेमा केन्द्रित छन् । त्यसका लागि संस्थापन इतरपक्षका नेताहरूलाई आफूतिर तानेर महत्त्वपूर्ण जिम्मेवारी दिने तथा विभाग र भ्रातृसंस्थाहरूमा पकड राखिराख्ने रणनीति लिएका छन् । चारपटक प्रधानमन्त्री र पार्टी सभापति भइसकेका देउवाको सार्वजनिक पृष्ठभूमि सकारात्मक छैन। तर, पार्टीपंक्तिमा राम्रो पकड छ। त्यसलाई कमजोर हुन नदिई नेतृत्वमा दोहोरिने उनको रणनीति छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको

काठमाडौँ, २३ मंसिर । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) फाइनलमा प्रवेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भदौमा भएको युवा विद्रोह (जेनजी आन्दोलन) को मर्मलाई

दाङ, २३ मंसिर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको