काठमाडौँ, १ पौष । गत वर्षको भदौबाट सुरु भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक अन्तसम्ममा २० हजार ८ सय ६९ जनाले मात्र उक्त व्याज अनुदानको कर्जा लिएका छन् । जसबाट ४७ अर्ब ३१ करोड ४१ लाख रुपैयाँ कर्जा सुविधा गएको छ ।
सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवशायिक शिक्षा कर्जा र भुकम्प पिडितहरुको निजी आवस निर्माण कर्जामा व्याज अनुदान दिने गरेको छ ।
सो शिर्षकमा कात्तिक मसान्तसम्म २ करोड १५ लाख ५० हजार रुपैयाँ बराबरको कर्जा गएको छ । यस्तै, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७० जनाले लिएका छन्। उनीहरुको लागि २ करोड १७ लाख ९४ हजार रुपैयाँ प्रवाह भएको छ ।
विदेशबाट फर्केका युवा परियोजना कर्जा पनि ८७ जनाले मात्रै लिएका छन् । ६ करोड ७० लाख ७१ हजार रुपैयाँ उनीहरुले लिएका छन् । १ सय १७ जनाले ६ करोड ९८ लाख ७० हजार रुपैयाँ दलित समुदाय व्यवसाय विकास कर्जा लिएका छन् । यस्तै ४ करोड ९ लाख ८७ हजार रुपैयाँ भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि गएको छ । १ सय ३९ जनाले यस्तो कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।
व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिएकाहरु भने उल्लेख्य देखिन्छ । कात्तिकसम्म यस्तो कर्जा १८ हजार ७ सय ४३ जनाले लिएका छन् । उनीहरुले ४५ अर्ब ९३ करोड ५१ लाख २९ हजार रुपैयाँ बराबरको कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, १ अर्ब १५ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको महिला उद्यमशील कर्जा १ हजार ६ सय ७५ जनाले लिएका छन् ।






