आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दल कै सांसदको आशंका

काठमाडौँ, २२ मंसिर । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दल कै सांसदहरुले आशंका व्यक्त गरेका छन् ।

महिला, कानून विकास मञ्चले आइतबार यहाँ नागरिकताबाट बञ्चित व्यक्तिहरु र सांसदहरुसँग गरेको छलफलमा सहभागि सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुने विषयमा नै आशंका व्यक्त गरेका हुन् ।

नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता प्रदान गर्ने सन्र्दभमा महिला र पुरुषलाई समान व्यवहार गरिनुपर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा संसद अधिवेशनमा पेस हुन नसकेको नागरिकता विधेयकमा सहजै सहमति जुट्ने सम्भावना आफूले नदेखेको बताउनुभयो ।

उहाँले नेपालीसँग विवाह गरेर आउने विदेशी नागरिक महिला वा पुरुषको हकमा ७ बर्ष पछि अंगिकृत नागरिकता प्रदान गरिने र तत्कालका लागि परिचयपत्र प्रदान गर्ने सम्बन्धमा सहमति जुट्न नसक्दा नागरिकता विधेयक संसदीय समितिमा थन्किरहेको बताउनुभयो । आगामी हिउँदे अधिवेशनमा पनि नागरिकता विधेयक पेश हुनेमा उनले आशंका व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहेका सत्तारुढ दलकै सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयक संसदमा पेश हुन नसक्नुको दोष अरुलाई दिन नमिल्ने भन्दै आगामी अधिवेशनमा पेश गर्ने गरी तयारी गर्न सम्बन्धित समितिका सभापतिलाई आग्रह गर्नुभयो । उहाँले राज्य व्यवस्था तथा शुसासन समितिकी सभापति शशी श्रेष्ठलाई सम्बोधन गर्दै यथास्थितिमा विधेयक अघि बढाउन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै सत्तारुढ पार्टीकै छौं । हामीले कसलाई भन्ने हो ? हामीसँग बहुमत छ । हामीले देखाउने ठाउँ छैन । हामीतिरै फर्कनुपर्छ हामी । कतै तिर फर्केर हुँदैन । हामीसंग कानुन पास गर्ने बहुमत छ । सबै ताकत लगाएर पास गर्नुपर्छ ।”

उहाँले बाबु पत्ता नलागेका आमाले आफ्नो सन्तानलाई नागरिकता दिने विषय कुनै पनि कानुनले रोक्न नसक्ने भन्दै नागरिकताबाट बञ्चित गर्ने र नागरिकता नभएकै कारण जन्म दर्ता नगर्ने जस्ता प्रवृत्ति रोकिनुपर्ने धारणा राख्नुभयो ।

सांसद नवराज सिलवालले आगामी अधिवेशनबाट नागरिकता विधेयक पारित गरी नागरिकताबाट वञ्चित रहेका आम नेपाली नागरिकलाई राज्यद्वारा पाउनु पर्ने नागरिकको अधिकारलाई सुरक्षित गर्नुपर्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो ।

महिला कानुन र विकास मञ्चका अध्यक्ष तथा अधिवक्ता मिरा ढुङ्गानाले लोकतन्त्रमा पनि पहिचानकै लागि लड्नुपर्ने बाध्यता रहेको औल्याउँदै नागरिकताका सवालमा लैङ्गिक विभेद व्यापक मात्रामा रहेको उल्लेख गर्नुभयो । उहाँले आमाको नामबाट छोरा छोरीले नागकिरता नपाएका कारण आफ्ना सन्तानलाई पहिचान दिन नसकेको समस्या रहेको बताउनुभयो ।

विभिन्न डर र त्रासका कारण नागरिकताको सिफारिस समेत नदिने गरेको गुनासो व्यक्त गर्दै उहाँले संविधानत नागरिकताबाट कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुन नहुने भनेता पनि कानुनमा समस्या रहेको उल्लेख गर्नुभयो ।

नागरिकता र जन्मदर्ता सम्बन्धमा भएको व्यवस्था पनि कार्यान्वयन हुन नसक्दा आफुहरु बर्षोदेखि नागरिकताका लागि अदालत धाउन बाध्य भएको भन्दै पीडीतहरुले सहज अनागरिक हुने अवस्थाको अन्त्य कहिले हुन्छ भनी प्रश्न गरेका थिए ।

संघीय संसद, प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा शुसासन समितिमा एक वर्ष देखि छलफल भएपनि नागरिकता विधेयकमा सहमति जुट्न सकेको छैन । नागरिकता विधेयक पास नभएकाले हाल नेपालमा करिव नौ लाख नागरिकले नागरिकता पाउनबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कठमाडौँ, २२ चैत । नेपालमा रहेका विदेशी नागरिकलाई उनीहरूकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका

कठमाडौँ, २२ चैत । बजार मूल्यभन्दा बढी रकम लिई पेट्रोल बिक्री गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले

काठमाडौँ, २२ चैत । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भरतपुर, २२ चैत । भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ ।