ललितपुर, १३ मंसिर । ट्रिनीटि म्युजिक ट्रेनिङ्ग सेन्टरका संस्थापक एवम् गितार प्रशिक्षक संैबु भैंसेपाटी निवासी सिताराम गौतम ‘गुरु’ की १३ वर्षिया छोरी सितास्मा गौतमको जन्मदिनको अवसरमा ललितपुरकै दुर्गम गाउँ गिम्दीको जनक माविका १० कक्षामा अध्ययनरत विद्यार्थीलाई सन्दर्भ/सहयोगी पुस्तक प्रदान गरिएको छ ।
लिट्टिल एन्जल्स स्कुलमा ६ कक्षामा पढ्दै गरेकी छात्रा सितास्माले जन्मदिनको अवसरमा नौलो र राम्रो काम गर्नुपर्छ भन्दै उनका बुबा मार्फत १५ हजार रुपैयाँ बराबबरका सन्दर्भ पुस्तकहरु जानकी माविका २३ जना विद्यार्थीलाई प्रदान गरिएको हो ।
केहीदिन अघि पेप्सीकोला टाउनप्लानिङ्गकी १३ वर्षिया छात्रा टिया श्रेष्ठले आफ्नो जन्मोत्सवको खर्च जोगाएर सुनसरी इनरुवाका ब्लड क्यान्सर पीडित २२ वर्षिय आशिष पोखरेललाई सिभिल अस्पतालमै गएर नगद ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेको समाचार पढेपछि विद्यार्थी सितास्माले पनि आफ्नो जन्मदिनमा विद्यार्थीलाई पुस्तक सहयोग गरेकी हुन ।
गितार प्रशिक्षक गौतमले माद्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारीमा रहेका ती विद्यार्थीलाई परीक्षाका लागि सहयोगी सबै विषयका प्रश्नोत्तर सहितको १० थरी पुस्तकको सेट विहीबार सो विद्यालयमै पुगेर हस्तान्तरण गरेका थिए ।







