काठमाडौँ, २८ असोज । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको बताउनुभएको छ ।
मन्त्री बास्कोटाले मंगलबार चिनियाँ राष्ट्रपति सीले नेपालको राजकीय भ्रमण गर्नु नेपालकै इतिहासको ठूलो उपलब्धी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब योजनाहरु कार्यान्वयनका तहमा जानेछन् । जसले अबका केही वर्षहरुभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ ।’
भ्रमण पश्चात् नेपालले के कति उपलब्धी हाँसिल ग¥यो भन्ने विषयमा सञ्चार केन्द्र नेपालले चिनियाँ राष्ट्रपति सि जिङपिङको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री बाँस्कोटाले २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गरेकोले यो भ्रमण ऐतिहासिक र फलदायी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘२३ वर्ष अघि चीन अहिलेको चीन थिएन भने नेपालमा पनि अहिलेको राजनीतिक व्यवस्था थिएन । जनमतबाट पाँच वर्षको लागि गठन भएको सरकार रहेको बेला सीको नेपाल भ्रमणले नेपालका लागि बहुआयामिक उपलब्धी हाँसिल गरेको छ ।’
मन्त्री बाँस्कोटाले सीको भ्रमणले नेपाल भित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको बताउनुभयो । यो भ्रमणलाई नेपालको संस्थापनले मात्र होइन, आम नागरिक र सबै राजनीतिक दल, सम्पूर्ण जनता र नेपालको भलो चिताउने सबैले हार्दिक स्वागत र समर्थन गरेको एउटा स्थिति देखा परेको उहाँले बताउनुभयो । ‘हाम्रा विकास निर्माणका योजनाहरुमा, सुख र समृद्धिका अभियानहरुमा हामी साथै रहन्छौं भन्ने दुई देशको राजनीतिक नेतृत्वको बिचमा उच्च हिसाबको विश्वास देखिएको छ, बाँस्कोटाले भन्नुभयो ।
आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा रहेको बताउँदै सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनिया राष्टपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा रहेको उहाँको धारणा थियो । ‘सम्मानीय प्रधानमन्त्रीले जुन सपना देख्नुभयो, नेपाल अब भूपरिवेष्ठितबाट भुजडित राष्टको रुपमा लैजाने । त्यसको निम्ति राष्टपतिले हामीलाई हौसला दिनुभयो । नेपालको विकास अभियानमा साथ रहेको र त्यसमा चीन सरकारको योगदान रहने प्रतिवद्धता पनि दोहोर्याउनुभयो’, कार्यक्रममा मन्त्री बास्कोटाले भन्नुभयो ।
चीन र दक्षिण एसियासित अब हिमालयमा मानवीय पुल मात्र नभइ भौतिक पुल समेत स्थापित हुनु सुखद पक्ष रहेको मन्त्री बास्कोटाको बुझाई थियो । ‘सडक सञ्जाल, रेलवे, हवाई, संचार उर्जा यी सब कुराले हाम्रो समृद्ध राष्टहरुबाट छिमेकीले पाउने लाभको हिस्सा पनि हामीले पाउने अनुभूति भएको छ । यद्यपी त्यसमा हामी नै निर्णायक र महत्वपूर्ण हुन्छौं’, कार्यक्रममा उहाले भन्नुभयो । कार्यक्रममा आयोजक सञ्चार केन्द्रका अध्यक्ष एवं प्रेस काउन्सिलका सदस्य गोविन्दप्रसाद चौंलागाईले महामहिम राष्ट्रपतिको भ्रमणका उपलब्धि कार्यान्वयनका चरणमा लैजानुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो ।